टेस्लाका मालिक इलन मस्कलाई १० खर्ब डलर बराबरको तलब प्याकेज दिन कम्पनीको शेयरधनीहरू सहमत भएका छन्।
बिहीबार बसेको बोर्ड बैठकले मस्कलाई सेयर र पैसा गरी वार्षिक १० खर्ब डलरको पारिश्रमिक प्याकेज दिन स्वीकृती दिएको हो।
उक्त प्रस्तावको पक्षमा ७५ प्रतिशत शेयरधनीहरूले मतदान गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
मस्कले प्राप्त गर्ने पारिश्रमिक अहिलेसम्म कुनै पनि कम्पनीको सिइओले प्राप्त गरेको सर्वाधिक प्याकेज हो।
योसँगै मस्क विश्वकै पहिलो ट्रिलेनियर (१० खर्बपति) बन्ने बाटोमा रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मस्कले यसलाई ऐतिहासिक भनेका छन्।
'टेस्लाले भविष्यको विषयमा नयाँ अध्याय होइन, नयाँ पुस्तक नै सुरू गर्न लागेको छ,' पारिश्रमिक प्याकेज स्वीकृत भएपछि मस्कले भने।
तर मस्कले पाउने उक्त प्याकेज भने स-सर्त हो।
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार त्यति पारिश्रमिक दिनका लागि टेस्लाले विभिन्न सर्त राखेको छ।
ती सर्तहरू पूरा भएको खण्डमा मात्रै उनले तोकिएको पारिश्रमिक पाउने भनिएको छ।
पहिलो सर्त कम्पनीको हाल कायम रहेको बजार मूल्यांकन १.४ खर्ब डलरबाट बढाएर ८.५ खर्ब डलर पुर्याउनुपर्नेछ।
त्यस्तै कम्पनीले वार्षिक २० लाखवटा गाडी बिक्री गर्नुपर्नेछ।
साथै दस लाख रोबोट्याक्स (चालकविहीन स्वचालित कार) बिक्री गर्नुपर्नेछ।
त्यस्ता १२ वटाभन्दा बढी सर्तहरू राखिएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तीमध्ये कुनै पनि सर्त पूरा नभएको खण्डमा मस्कले कम्पनीबाट एक रूपैयाँ पनि पाउने छैनन्।
तर तीमध्येबाट बर्सेनि कुनै पनि एउटा लक्ष्य मात्रै पूरा भएको खण्डमा मस्कले न्यूनतम १ प्रतिशत शेयर पाउने छन्। त्यो भनेको ८३ अर्ब डलरभन्दा बढी हुने भनिएको छ। सबै सर्त पूरा भएको खण्डमा उनले १० खर्ब डलरको प्याकेज पाउने छन्।
यसको अर्थ मस्कले कीर्तिमानी तलब प्याकेज प्राप्त गर्नका लागि कम्पनीलाई पनि सफल बनाउनुपर्नेछ।
गत वर्षको अन्त्यमा मस्क डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपति जिताउन लाग्दा टेस्लालाई ध्यान दिन पाएका थिएनन्न। त्यसयता टेस्लाको बजार पनि खस्किएको छ।
ट्रम्पले राष्ट्रपति जितेपछि ह्वाइट हाउसमा एउटा विभाग नै सम्हालेर बसेका थिए। रिपब्लिकन राष्ट्रपतिको पक्ष लिएको भनेर डेमोक्र्याटहरूले मस्कको चर्को आलोचना गरेको थियो।
ट्रम्पको विदेश नीतिले पनि मस्कको कार बिक्रीमा असर पुर्याएको थियो।
टेस्लाको यो नीतिले भने मस्कलाई जुनसुकै हालतमा पनि कम्पनीलाई सफल बनाउनुपर्ने चुनौती हुन्छ। शेयरधनीहरूले कम्पनी सफल हुँदा मात्रै मस्कले सोबापतको पारिश्रमिक प्याकेज प्राप्त गर्ने भएकाले यसले शेयरधनीहरूलाई नोक्सान नहुने बरू फाइदा हुने बताएका छन्।
विज्ञहरुले भने यो योजना मस्कमा मात्रै निर्भर हुनेगरी व्यवस्था गरेको भनेर आलोचना गरेको छ। यसलाई कम्पनीको शक्ति मस्कमा केन्द्रित हुने चिन्तासमेत व्यक्त गरेका छन्।
मस्क अहिले पनि विश्वकै धनी व्यक्ति हुन् र उनको स्वामित्वमा टेस्लाका करिब १५ प्रतिशत सेयर छ। यो योजना सफल भएमा उनको स्वामित्व झन्डै २९ प्रतिशत पुग्ने अनुमान गरिएको छ।