रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ २०२५ मेटिओर–३५० मोटरसाइकल सार्वजनिक गरेको छ।
कम्पनीले आजदेखि टेस्ट राइड र बुकिङ खुलेको घोषणा गरेको छ।
सुस्त यात्रादेखि लामो दूरीका आरामदायी क्रूजिङका लागि उपयुक्त मानिने मेटिओर–३५० फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरियन्टमा पाउँनेछन्।
३४९ सिसी क्षमताको इन्जिनसहित बजारमा आउने यो मोडेलमा अब सबै भेरियन्टमा एलइडी हेडलाइट राखिएको छ। नयाँ रंग, सुधारिएको फिनिस र अझ आरामदायी आसन तथा राइडिङ पोस्चरसमेत यसमा थपिएको कम्पनीले जनाएको छ।
राइडिङ अनुभवलाई अझ सहज बनाउन मेटिओर–३५० मा परिमार्जित डिजाइन र दैनिक यात्रा तथा लामो दूरी दुवैका लागि उपयोगी सुविधा राखिएको छ।
विश्वभर पाँच लाखभन्दा धेरै मेटिओर प्रयोगकर्ताको विश्वास जितिसकेको यो मोडेल नेपालमा पनि लोकप्रिय रहेको र कम्पनीले यस संस्करणले त्यहाँको बजारमा थप ऊर्जा ल्याउने विश्वास व्यक्त गरेको छ।
यस मोटरसाइकलका लागि दुई प्रकारका ‘एक्सेसरी किट’—अर्बन र ग्रान्ड टुरर—उपलब्ध छन्। जसमा विशेष ह्यान्डलबार, सिट, प्यानियर, फुटरेस्ट लगायतका सुविधाहरू समावेश छन्।
कम्पनीका अनुसार फायरबल भेरियन्ट प्रारम्भिक मोडेल हो, जसमा अरेन्ज र ग्रे गरी दुई आकर्षक रंग छनोट छन्।
यसको मूल्य पाँच लाख ७७ हजार राखिएको छ, जसले क्रूजर सेग्मेन्टमा किफायती प्रवेश विकल्प बनाउँछ।
यसपछि आउने स्टेलर भेरियन्टमा म्याट ग्रे र म्यारिन ब्लु रंग विकल्प दिइएका छन्। बढी परिष्कृत फिनिस र केही अतिरिक्त स्टाइलिङ तत्त्वहरूका कारण यसको मूल्य पाँच लाख ८७ हजार तोकिएको कम्पनीले जनाएको छ।
अरोरा भेरियन्टले रेट्रो अनुभव चाहनेलाई लक्ष्य गरेको छ। रेट्रो ग्रिन र रेड रंगमा उपलब्ध यो संस्करणमा क्लासिक क्रूजरको झल्को दिने डिजाइन झन् बलियो बनाइएको छ। यसको मूल्य पाँच लाख ९१ हजार ९ सय निर्धारण गरिएको छ।
सबैभन्दा प्रिमियम मानिएको सुपरनोभा भेरियन्ट भने ब्ल्याक रंगमा आउनेछ। आधुनिक फिनिस, क्रोम स्पर्श र थप परिमार्जित लुकका कारण यसको मूल्य सूचीमा सबैभन्दा माथि पाँच लाख ९७ हजार राखिएको छ।