चिनियाँ बिजुली कार (इभी) उत्पादक कम्पनी बिवाइडी आफ्नो अमेरिकी प्रतिस्पर्धी टेस्लालाई पछि पार्दै विश्वकै सबभन्दा ठूलो इभी बिक्रेता बन्ने भएको छ।
बिवाइडीले वार्षिक बिक्रीका आधारमा पहिलो पटक टेस्लालाई उछिनेर विश्वकै ठूलो इभी कम्पनी बन्न लागेको हो।
बिहीबार बिवाइडीले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष कम्पनीका गाडीको बिक्री करिब २८ प्रतिशत बढेर २२ लाख ५० हजारभन्दा बढी पुगेको बिबिसीले जनाएको छ।
उता, टेस्लाले सन् २०२५ को कुल बिक्री तथ्यांक शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ। गत साता प्रकाशित विश्लेषकहरूको अनुमान अनुसार टेस्लाले वर्षभरिमा करिब १६ लाख ५० हजार गाडी बिक्री गरेको छ।
अमेरिकी कम्पनी टेस्लाले सन् २०२५ मा चुनौतीपूर्ण समय भोग्नुपरेको थियो। कम्पनीका प्रमुख एलन मस्कका राजनीतिक गतिविधिप्रति असहजता र चिनियाँ प्रतिस्पर्धी कम्पनीहरूको बढ्दो दबाबले टेस्लाको बिक्री प्रभावित भएको विश्लेषण गरिएको छ।
गत अक्टोबरमा टेस्लाले बिक्री बढाउने उद्देश्यले अमेरिकामा आफ्ना दुई सर्वाधिक बिक्री हुने मोडेलका सस्ता संस्करण सार्वजनिक गरेको थियो।
त्यसअघि प्रतिस्पर्धामा टिकिरहन टेस्लाले नयाँ र किफायती मोडेल ल्याउन ढिलो भएको भन्दै आलोचना हुँदै आएको थियो।
विश्वकै सबभन्दा धनी व्यक्ति मानिने एलन मस्कमाथि आगामी एक दशकमा टेस्लाको बिक्री र सेयर बजार मूल्य उल्लेखनीय रूपमा बढाउने जिम्मेवारी छ।
नोभेम्बरमा सेयरधनीहरूले अनुमोदन गरेको पारिश्रमिक सम्झौता अनुसार मस्कले १० खर्ब अमेरिकी डलरसम्मको भुक्तानी पाउन सक्नेछन्।
उक्त सम्झौता अन्तर्गत मस्कले आगामी १० वर्षमा १० लाख मानवीय स्वरूपका रोबोट (ह्युमनोइड रोबोट) बिक्री गर्नुपर्ने सर्त पनि समावेश छ। टेस्लाले 'अप्टिमस' नामक रोबोट र स्वचालित 'रोबोट्याक्सी' परियोजनामा ठूलो लगानी गरिरहेको छ।
तर सन् २०२५ को पहिलो तीन महिनामा टेस्लाको बिक्रीमा गिरावट आयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा मस्कको भूमिकाप्रति उत्पन्न असन्तोषका कारण कम्पनीले आलोचना खेप्नुपरेको थियो।
टेस्लाबाहेक मस्कका अन्य व्यावसायिक लगानीमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर), अन्तरिक्ष कम्पनी स्पेसएक्स र सुरूङ निर्माण गर्ने बोरिङ कम्पनी पनि पर्छन्।
यी सबै जिम्मेवारीसँगै ट्रम्प प्रशासनअन्तर्गतको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डज) चलाउँदा मस्कले टेस्लामा पर्याप्त ध्यान नदिएको केही लगानीकर्ताहरूको आरोप छ।
त्यसपछि मस्कले अमेरिकी सरकारमा आफ्नो भूमिका 'उल्लेखनीय रूपमा घटाउने' प्रतिबद्धता जनाएका छन्।
यी सबका बीच बिवाइडीले पछिल्ला वर्षहरूमा आफ्नो उत्पादन र बजार तीव्र विस्तार गरेको छ। तैपनि सन् २०२५ मा यसको बिक्री वृद्धिदर पछिल्ला पाँच वर्षकै न्यून स्तरमा झरेको छ।
चीनको सेन्जेनस्थित यस कम्पनीले मुख्य बजार चीनमै 'एक्सपेङ' र 'नियो' जस्ता नयाँ इभी निर्माताबाट कडा प्रतिस्पर्धा सामना गरिरहेको छ।
प्रतिस्पर्धाका बाबजुद बिवाइडी विश्वव्यापी इभी बजारमा शक्तिशाली खेलाडीका रूपमा कायम छ। कम्पनीका गाडीहरूको मूल्य प्रायः प्रतिस्पर्धी ब्रान्डभन्दा सस्तो हुने भएकाले यसले बजार विस्तार गर्न सहयोग पुर्याएको छ।
धेरै देशले चिनियाँ इभीमाथि उच्च भन्सार कर लगाएका भए पनि बिवाइडीले ल्याटिन अमेरिका, दक्षिण–पूर्वी एसिया र युरोपका केही भागमा तीव्र रूपमा बजार विस्तार गरिरहेको छ।
गत अक्टोबरमा बिवाइडीले चीनबाहिरको सबभन्दा ठूलो बजार बेलायत भएको जनाएको थियो।
कम्पनीका अनुसार सेप्टेम्बरको अन्त्यसम्मको एक वर्षमा बेलायतमा यसको बिक्री ८८० प्रतिशत वृद्धि भएको छ। यो वृद्धि मुख्यतः 'सिल यू' नामक प्लग–इन हाइब्रिड एसयुभीप्रति बढेको मागका कारण भएको बताइएको छ।