नेपालका लागि सिएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एक कार्यक्रमकाबीच बहुप्रतीक्षित सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्वजनिक गरेको छ।
कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा सिएफमोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतीक्षित मानिएको सिएफमोटो २५० डुअल इएफआईलाई नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिले नेपाली बजारप्रति कम्पनीको प्रतिबद्धता झल्किएको पनि बताइएको छ।
कम्पनीका प्रतिनिधिहरूले नेपालका विभिन्न प्रकारका सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यो मोटरसाइकलले प्रदर्शन, टिकाउपन र बहुउपयोगिताको सन्तुलन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
यो मोटरसाइकल सामान्य सडक तथा अफरोड दुवै प्रकारको यात्राका लागि उपयुक्त हुने गरी परम्परागत सीमाभन्दा बाहिर साहसिक यात्रा खोज्ने चालकहरूका लागि लक्षित गरेर तयार गरिएको कम्पनीले जनाएको छ।
यस मोटरसाइकलमा २४९ सिसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणाली भएको इन्जिन जडान गरिएको छ।
यसले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै इलेक्ट्रोनिक फ्युल इन्जेक्सन प्रणालीका कारण थ्रोटल प्रतिक्रिया सहज हुने र इन्धन खपत कम हुने कम्पनीको दाबी छ ।
मोटरसाइकलमा सहरका सडकदेखि अप्ठेरा बाटोसम्म सहज रूपमा चलाउन सकिने 'डुअल पर्पोज' डिजाइन रहेको छ।
२४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त मानिएको छ।
यसमा डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पुर्याउने बताइएको छ।
हल्का तर बलियो फ्रेमका कारण मोटरसाइकललाई चुस्त र टिकाउ बनाइएको कम्पनीको दाबी रहेको छ।
कार्यक्रममा बाइकरहरूसँग अन्तरक्रिया, सञ्चारकर्मीहरूसँग संवाद तथा मोटरसाइकलको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो।
सहभागीहरूले मोटरसाइकलको अवलोकन समेत गरेका थिए।
सिएफमोटोले नेपालमा आफ्नो उत्पादन दायरा विस्तार गर्दै आएको छ।
नयाँ मोडल सार्वजनिक भएसँगै कम्पनीले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र आधुनिक डिजाइन भएका मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
सिएफमोटो २५० डुअल इएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
यो मोटरसाइकल पोलार ह्वाइट (सेतो), लाइम ग्रीन (हरियो) र टुन्ड्रा ग्रे (खैरो) गरी तीन रंगमा उपलब्ध हुनेछ।
सिएफमोटो विश्वभर चिनिएको मोटरसाइकल निर्माता कम्पनी हो।
कम्पनीले उच्च प्रदर्शन क्षमताका मोटरसाइकल, कृषि प्रयोजनका चार पांग्रे सवारी तथा पावरस्पोर्ट्स सवारी साधन उत्पादन गर्दै आएको छ।
सन् २०२५ को पहिलो तीन त्रैमासिकमा कम्पनीले करिब २ अर्ब १० करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको जनाएको छ।