यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ।
डिजिटल र राइडिङ समुदायसँग बलियो सम्बन्ध भएको यामाहाले कार्यक्रमलाई मौलिक ढंगले दुई फरक चरणमा छुट्याएको थियो।
पहिलो चरणमा इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रिभ्यु र अन्तरक्रियाका लागि आमन्त्रण गरिएको थियो भने दोस्रो चरणमा सञ्चारमाध्यमका प्रतिनिधि, व्यवसायिक साझेदार, डिलर तथा रोडिज ग्याङ लिडर, रेसर र ब्लू स्ट्रिक्स जस्ता यामाहा राइडिङ समुदायको सहभागिता रहेको थियो।
कार्यक्रममा यामाहा परिवारका सदस्यहरू सहित अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, यामाहा मोटर इन्डिया सेल्सका एक्सपोर्ट मार्केटिङ जि.एम. राजदीप सिंह र डि.जि.एम. बिपिन सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा वर्षा बस्नेत र श्रीहरी पौडेल जस्ता चर्चित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो भने सञ्चारकर्मी र कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अनावरण कार्यक्रममा हाइब्रिड प्रविधि र सहभागिताको महत्वलाई झल्काउने गरी रोबोट र मानिसको संयुक्त प्रस्तुति देखाइएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ, जसले ब्रान्डको बोल्ड, स्टाइलिस र प्रदर्शनमुखी पहिचानलाई अझ सुदृढ बनाएको छ।
कार्यक्रमको मुख्य आकर्षण एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकलको अनावरण थियो, जुन सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडेल हो।
कम्पनीका अनुसार यामाहाले बलियो विरासतलाई निरन्तरता दिँदै प्रमाणित १४९ सिसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ।
यो नेक्स्ट–जेनेरेशन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्दछ।
साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ।
विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी प्रदान गर्छ, जसले नेपालको जस्तो बदलिँदो यातायात आवश्यकताका लागि आधुनिक र व्यवहारिक समाधान दिन्छ।
नेपालभर इन्धनको मूल्यका साथै ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दै गइरहेको अवस्थामा हाइब्रिड प्रविधिलाई दैनिक आवागमनका लागि एक अग्रगामी समाधानका रूपमा हेरिएको छ।
परम्परागत इन्जिनको विश्वसनीयतालाई स्मार्ट ब्याट्री–असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६०+ कि.मी प्रति लिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्दछ, जुन नेपालको विविधतायुक्त भू–भागका लागि अति उपयुक्त छ।
कार्यक्रममा बोल्दै विष्णु कुमार अग्रवालले भने, 'यो अनावरण नेपालमा यामाहाका लागि एक महत्वपूर्ण पाइला हो। हामी मोटरसाइकल सेग्मेन्टमा हाइब्रिड प्रविधि भित्र्याएर अझ स्मार्ट र जिम्मेवार प्रदर्शनतर्फ अघि बढिरहेका छौं। यामाहा नेपाली राइडरहरूका लागि उन्नत विश्वस्तरीय प्रविधि ल्याउन प्रतिबद्ध छ।'
उनले यामाहा सधैं उन्नत र प्रमाणित प्रविधिका लागि चिनिने ब्रान्ड भएको उल्लेख गर्दै यसको भरपर्दो फ्युल–इन्जेक्सन (एफआई) प्रणालीजस्ता प्रविधिहरूले नवप्रवर्तन र प्रदर्शनमा ब्रान्डको पहिचानलाई थप मजबुत बनाएको बताए।
नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ। १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजिलिटी र पावर–टु–वेट अनुपात प्रदान गर्छ।
यसमा सिंगल–च्यानल बोश एबीएस, २२० एमएम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ।
हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ बढाएको छ, जसले यसलाई साधारण मोटरसाइकलभन्दा फरक बनाउँछ।
अनावरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यामाहाले कार्यक्रम स्थलमा विशेष 'एक्सपिरियन्स जोन' पनि तयार गरेको थियो, जहाँ उत्पादन प्रदर्शनीसँगै २००८ देखि २०२६ सम्मको एफजेड सिरिजको विरासत प्रस्तुत गरिएको थियो।
प्रदर्शनसँगै यो मोटरसाइकलमा यामाहाको मौलिक डिजाइन शैली र आधुनिक सुविधाहरू पनि समावेश छन्।
यसमा अलग–अलग हाई र लो बिम भएको एलइडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडशिप मफलर तथा इन्जिन अन्डर काउल समावेश गरिएको छ, जसले सुरक्षा र स्पोर्टी लुक दुवै बढाउँछ।
साथै नेगेटिभ एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर र ई–२० फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधाले यसको भविष्य–उन्मुख डिजाइनलाई अझ स्पष्ट बनाउँछ।
यामाहाको देशव्यापी नेटवर्कले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाएको बताइएको छ।
नेपालभर रहेका १०० डिलरशिप, ९५ पूर्ण सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायक (एएसपी) मार्फत कम्पनीले भरपर्दो आफ्टर सेल्स सर्भिस, असली स्पेयर पार्ट्सको सहज उपलब्धता र सहज स्वामित्व अनुभव प्रदान गरेको छ।
यस अनावरणमार्फत यामाहाले नयाँ उत्पादन मात्र होइन, हाइब्रिडको नयाँ सेग्मेन्ट नै स्थापना गर्दै प्रदर्शन, दक्षता र दिगोपनलाई नयाँ ढंगले परिभाषित गरेको बताइएको छ।