सरकारले ३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राख्ने भएको छ।
मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ९७ नम्बर बुँदामा यसबारे उल्लेख छ।
सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्नका लागि सरकारले सबै सवारी साधनमा सिसिटिभी तथा ड्यासक्याम जडान गर्ने तयारी गरेको हो।
त्यस्तै राइड शेयरिङ एपमा एसओएस बटन अनिवार्य गरिने कार्यसूचीमा उल्लेख छ। त्यसबाट आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था ३० दिनभित्र मिलाइने जनाइएको छ।
महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गरिने पनि कार्यसूचीमा उल्लेख छ।
यसका लागि पहिलो चरणमा १०० दिनभित्र कम्तिमा २५ वटा बस सञ्चालनमा ल्याइने लक्ष्य सरकारले राखेको छ।