साढे ५ वर्षदेखि लुम्बिनीमा अलपत्र पारिएका विद्युतीय बस बुधबारदेखि सञ्चालन गर्न थालिएका छन्। लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार बुधबारदेखि एउटा बस सञ्चालन गरिएको हो।
‘आजदेखि भारतीय सीमा नाका हुँदै लुम्बिनी आउने पर्यटकहरूलाई लक्षित गरी एउटा बस सञ्चालन गरिएको छ, अर्को एउटा बस पनि ब्याट्री फेरेपछि आजै या भोलिसम्म सञ्चालन गर्छौ,’ श्रेष्ठले भने।
लुम्बिनी जाने पर्यटकहरूलाई सहज होस् भनी साढे ५ वर्ष पहिले एसियाली विकास बैंकले विद्युतीय ५ वटा बस र १४ वटा भ्यान उपलब्ध गराएको थियो। तर लुम्बिनी विकास कोषले विभिन्न कारण देखाउँदै सञ्चालन गर्नेतर्फ बेवास्ता गर्दै आएको थियो।
२१ करोड खर्चिएर दाताले उपलब्ध गराएका विद्युतीय गाडी सञ्चालन नगरी लुम्बिनीमा अलपत्र पारेपछि नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लैजाने तयारी गरेपछि प्रधानमन्त्रीको कार्यालयले चासो दिएको थियो।
प्रधानमन्त्रीको कार्यालयबाट लुम्बिनीका लागि उपलब्ध गराइएका बसहरू तत्काल लुम्बिनीमै सञ्चालन गर्न भन्दै सोमबार मौखिक निर्देशन आएपछि बुधबारदेखि नै एउटा बस सञ्चालन गरिएको हो।
विकास कोषका सदस्य सचिव श्रेष्ठले तत्काल एउटा बस सञ्चालन गरिएको र अन्य बस र भ्यानहरू सञ्चालनको लागि चालक र सहचालक नियुक्ति र कार्यविधि बनाउनुपर्ने बताए।
‘विकास कोषसँग साना गाडी चलाइरहेका दुई जना मात्र चालक छन्, बसको लागि सोही अनुसारका चालक आवश्यक पर्छ। अहिले ठूला गाडीको समेत चालक अनुमति पत्र लिएका एक जना चालकबाट काम चलाइएको छ। पछि चालक र सहचालकहरू भर्ना गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने।
उनले अहिलेको अवस्थामा गाडीमा यात्रा गर्ने यात्रुबाट भाडा समेत उठाउन नमिल्ने भएकोले स्वैच्छिक रूपमा भाडा दिन चाहनेहरूका लागि डोनेसन बक्स या क्युआर कोडको व्यवस्था गर्ने र पछि कार्यविधि बनाएर त्यसैअनुसार सञ्चालन गर्ने बताए।
नेपालको यातायात कानुन अनुसार पर्यटक यातायातका लागि हरियो नम्बर प्लेट अनिवार्य मानिन्छ। तर, हरियो प्लेटमा भएका गाडीहरू सार्वजनिक रूटमा चलाउन र यात्रुबाट भाडा उठाउन पाइँदैन। त्यसैले अहिलेकै अवस्थामा भाडा नलिई गाडी सञ्चालन गर्दा चालक र सहचालकको पारिश्रमिकमा विकास कोषलाई अतिरिक्त आर्थिक भार पर्छ। गाडी सञ्चालनमा विकास कोषलाई थप आर्थिक भार नपार्ने गरी कार्यविधि बनाइने श्रेष्ठले बताए।
एडिबीले उपलब्ध गराएका गाडीहरू सञ्चालन गर्न नसक्दा विकास कोष र सरकारको चर्को आलोचना भएको थियो। एडिबीले उपलब्ध गराएका यी बसहरू वातानुकूलित, अपाङ्गतामैत्री, स्वचालित ढोका र कार्डमार्फत भुक्तानी सुविधा भएका १९ सिट क्षमताका छन्। भ्यान भने पाँच सिट क्षमताका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन र वातावरणीय संरक्षणका लागि भन्दै एडिबीले एसियन क्लिन इनर्जी मार्फत अन्तर्राष्ट्रिय मापदण्डका बस र १४ वटा ट्याक्सी उपलब्ध गराएको थियो।
तर, लुम्बिनी विकास कोषका पदाधिकारीहरूको चरम लापरबाही र उदासीनताका कारण वर्षौंसम्म खुला आकाशमुनि घाम, पानी, धुलो र धुवाँमा राख्दा बसहरू बिग्रिएका छन्। १४ वटा भ्यान पनि दुई वटा बिग्रिएकोले मर्मत गरेर समेत सञ्चालन हुन नसक्ने अवस्थामा पुगेका छन्। अन्य भ्यानहरू विकास कोषका पदाधिकारी र कर्मचारीहरूले प्रयोग गरिरहेका छन्।