नेपालका लागि ओमोडा जेको र आइकारका आधिकारिक विक्रेता एसपिजी अटोमोबाइल्स प्रालिले आफ्ना विद्युतीय सवारी (इभी) मोडेलहरूमा उद्योगकै अग्रणी ११ वर्षे वारेन्टी घोषणा गरेको छ।
ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो इभी वारेन्टी कार्यक्रमहरूमध्ये एक हो।
हाल ओमोडा जेको र आइकारका सवारीसाधनहरूमा ब्याट्री र मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मानक निर्माता वारेन्टी उपलब्ध छ।
नयाँ ल्याइएको विस्तारित वारेन्टी कार्यक्रमअन्तर्गत अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) पुर्याइएको छ।
यो विस्तारित वारेन्टी ओमोडा इ५, जेको जे५, जेको जे६टी र आइकार भी२३ मोडेलहरूमा उपलब्ध छ।
जसले ग्राहकको आत्मविश्वास बढाउने र विद्युतीय सवारीको स्वामित्वलाई थप ढुक्क बनाउने विश्वास लिइएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यस विस्तारित वारेन्टीअन्तर्गत ग्राहकहरूले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्राप्त गर्नेछन्।
यस पहलका बारेमा बोल्दै एसपिजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले भने, 'हाम्रो विस्तारित वारेन्टीले हाम्रा सवारीसाधनहरूको उन्नत विद्युतीय सवारी प्रविधिप्रति हाम्रो अटल विश्वास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको आकर्षण बढिरहेको अवस्थामा यस पहलले हाम्रा ग्राहकहरूमा दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ।'
देशभर १८ भन्दा बढी बिक्री केन्द्र र १५ वटा सेवा केन्द्रका साथै द्रुत रूपमा विस्तार भइरहेको बिक्री तथा चार्जिङ पूर्वाधार सञ्जालका साथ ओमोडा जेको र आइकारले नेपालमा तीव्र गतिमा अघि बढिरहेका विद्युतीय सवारी ब्रान्डका रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्।
यस अद्यावधिक गरिएको वारेन्टी नीतिका बारेमा थप जानकारीका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको ओमोडा जेको वा आइकार प्रदर्शनी कक्ष (सोरुम) वा आधिकारिक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।