प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि दुई दिन सञ्चालन भएका लुम्बिनीका विद्युतीय बस अन्ततः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर थन्काइएको छ।
लुम्बिनीको पर्यटन र वातावरणीय संरक्षण तथा लुम्बिनी आउने पर्यटकहरूलाई सहज सेवा दिने उद्देश्यले एसियाली विकास बैंकले २०७७ मंसिर र पुसमा गरेर ५ वटा बस र १४ वटा ट्याक्सी (भ्यान) लुम्बिनी ल्याइएका थिए।
एसियन क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ल्याइएका अन्तर्राष्ट्रिय मापदण्डका बस र ट्याक्सीका लागि एडिबीले २१ करोड रूपैयाँ खर्चिएर लुम्बिनी ल्याइएको थियो।
लुम्बिनी ल्याएको साढे ५ वर्ष पुगिसक्दा पनि बसहरू सञ्चालन हुन नसकेको भन्दै नागरिक उड्डयन प्राधिकरणले लुम्बिनी विकास कोषलाई काठमाडौं पठाउन भन्दै लिखित पत्र काटेको थियो। प्राधिकरणको पत्राचारपछि ५ वटा बस काठमाण्डौं लैजाने तयारी गरिरहँदा चैत्र १६ गते प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सचिवालयले बसहरू लुम्बिनीमै सञ्चालन गर्न मौखिक निर्देशन दिएको थियो।
त्यसपछि एउटा बस चैत १८ र १९ गते लुम्बिनीबाट भैरहवा हुँदै बेलहिया रूटमा र अर्को बस १९ गते लुम्बिनीबाट तिलौराकोट र कुदान रूटमा सञ्चालन गरिएको थियो। तर, तेस्रो दिन चैत २० गते देखि भने पाँच वटै बस भैरहवास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयमा लगेर थन्क्याइएको छ।
लुम्बिनी विकास कोषका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लिखित निर्देशनपछि बसहरू गौतम बुद्ध विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयको जिम्मा लगाइएको हो। विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठले नागरिक उड्डयन प्राधिकरणबाट बसहरू पठाउन लिखित निर्देशन आएपछि पठाइएको बताए।
विकास कोषका एक कर्मचारीका अनुसार एक महिना अघिदेखि नै गाडीहरू काठमाडौं पठाउन पत्राचार गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्रीको सचिवालयले लुम्बिनीमै सञ्चालन गर्न मौखिक निर्देशन दिएको दिनमै बसहरू तीन दिनभित्र बुझाउन भन्दै पत्राचार गरेको थियो।
मन्त्रालयको ताकेतापछि सबै बसहरू गौतम बुद्ध विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयको जिम्मा लगाइएको ती कर्मचारीले बताए।
गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले पनि मन्त्रालयको निर्देशन अनुसार बसहरू विमानस्थलमा ल्याइएको बताए। रावतका अनुसार ५ वटा बसमध्ये मन्त्रालयले दुई वटा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थलका लागि एक/एक वटा पठाउने भनेर पत्र पठाएको छ।
एडिबीले लुम्बिनीका लागि उपलब्ध गराएका बसहरू अन्यत्र पठाउन ताकेता गरेको मन्त्रालयले गौतम बुद्ध विमानस्थलका लागि पनि राख्न नभनेको रावतले बताए।
विकास कोषका सदस्य सचिव श्रेष्ठले शुक्रवार विकास कोषको बोर्ड बैठक रहेको र बैठकले कुनै निर्णय नगर्दासम्म मन्त्रालयको निर्णय अनुसार बसहरू पठाइएको बताए।
पर्यटकहरूलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनी र लुम्बिनीदेखि बुद्ध सर्किट क्षेत्रका पर्यटकीय क्षेत्रहरूमा लैजान सहज होस् भनेर दाताले दिएका बसहरू चल्न नसक्दा लुम्बिनीको खुल्ला आकाश मुनी थन्क्याएर राखिएको थियो।
बेलाबेलामा बसहरू सञ्चालन गर्ने प्रयास गरिए पनि सरकारी सेतो नं. प्लेटमा आएका बसहरू साढे ४ वर्षपछि २०८२ वैशाखमा बल्ल पर्यटक बोक्ने हरियो नं. प्लेटमा परिवर्तन भएका थिए। तर, हरियो नं. प्लेटमा परिवर्तन गरिए पनि गाडीहरू कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि नहुँदा सञ्चालन हुन सकेनन्। विगतमा दसैँ तिहारको मौका पारेर परीक्षणको लागि भन्दै २ पटक बस चलाउने प्रयास गरिए पनि निरन्तरता पाउन सकेनन्।
नेपालको यातायात कानुन अनुसार पर्यटक यातायातका लागि हरियो नम्बर प्लेट अनिवार्य मानिन्छ। तर, पर्यटक गाडीहरू सार्वजनिक रूटमा चलाउन र यात्रूबाट भाडा उठाउन पाइँदैन। भाडा उठाउन नपाइने भएपछि बसहरू सञ्चालन गर्दा चालक र सहचालकको पारिश्रमिक तथा मर्मत सम्भारमा अतिरिक्त आर्थिक भार पर्छ। सरकारी निकायका सवारी साधनहरू निजी संस्था वा व्यक्तिलाई भाडामा लगाउन पनि पाइँदैन। त्यसले पनि बसहरू सञ्चालन गर्न कठिन भइरहेको विकास कोषका सदस्य सचिव श्रेष्ठ बताउँछन्।