काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन गरेको हो।
पूर्व–पश्चिम रूटमा त्रिभुवन विमानस्थल (एयरपोर्ट) देखि थानकोटसम्म विभिन्न मुख्य स्थान हुँदै बस चल्नेछ। उत्तर–दक्षिण रूटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ।
यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ। सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य छ।
यात्रु सुरक्षाका लागि बसमा सिसिटिभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ। नगर प्रहरीको पनि व्यवस्था छ। साथै, 'साझा प्लस' मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ।
यो सेवा आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना छ।



















