सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइने ४५ प्रतिशत छुट कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ।
विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्थालाई पत्राचार गर्दै छुट कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
२०६५ फागुन २० मा नै विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय भएको थियो। तर पछिल्लो समय सवारी साधनले कार्यान्वयन नगरेको गुनासो आएकाले पुन: कार्यान्वयन गर्न निर्देशन दिइएको विभागका सवारी अनुमन, मापदण्ड तर्जुमा र सवारी-चालक व्यवस्थापन निर्देशक गणेशमान सिं राईले जानकारी दिए।
उनका अनुसार हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै गुनासो/ उजुरीहरू गरिरहेका छन्। त्यसैले त्यसलाई कार्यान्वयन गर्न पत्राचार गरेरै निर्देशन दिइएको छ।