इक्रा नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएचपिएल) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी कर्जा मूल्यांकन वृद्धि गरेको छ।
कम्पनीको दीर्घकालीन कर्जा मूल्यांकन 'एलबिबी प्लस'बाट बढाएर 'एलबिबिबी माइनस' गरिएको छ भने अल्पकालीन मूल्यांकन 'ए४ प्लस'बाट सुधार भई 'ए३' पुगेको छ।
यस मूल्यांकन वृद्धिले एमएचपीएलको समग्र कर्जा–क्षमता अवस्था सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउँछ।
कम्पनीले विशेषगरी मोबाइल फोन किस्ताबन्दी वित्तीय सेवाको क्षेत्रमा प्रभावकारी असुली संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएकाले सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ।
एमएचपीएलले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको छ।
कम्पनीको शुद्ध ब्याज मार्जिन स्थिर रहेको छ भने सञ्चालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ।
साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान आवरण कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी वहन गर्ने क्षमता सुदृढ बनाएको छ।
यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित रहेको छ, जसमा मध्यम कर्जा–मूल्य अनुपातमा ध्यान दिइएकाले जोखिम न्यूनीकरणमा मद्दत पुगेको छ।
पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू समूहको हिस्सा हुनु पनि एमएचपिएलका लागि थप बलियो पक्ष हो।
यस समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ।