नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले प्रिमियम इभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै पूर्ण इलेक्ट्रिक पिकअप एमजी यू९ इभी सार्वजनिक गर्ने तयारी गरेको छ।
अत्याधुनिक प्रविधि र विलासी विशेषताले भरिपूर्ण यो गाडी लक्जरी र फ्ल्यागशिप गरी दुईवटा विशेष भेरियन्टमा उपलब्ध हुनेछ।
असाधारण शक्ति र प्रदर्शन: एमजी यू९ इभी नेपाली बाटोहरूका लागि एक शक्तिशाली विकल्पको रूपमा प्रस्तुत गरिएको छ।
यसमा जडान गरिएको डुअल मोटर (अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट) ले कुल ३२५ किलोवाटसम्मको शक्ति र ७०० एनएम टर्क प्रदान गर्छ।
यो पिकअपले मात्र ५.८ सेकेन्डमा शून्यदेखि १०० किमी प्रतिघण्टाको गति समात्न सक्छ।
यसमा रहेको एयर सस्पेन्सन र विभिन्न ड्राइभिङ मोडहरू (नर्मल, इको, स्पोर्ट, स्नो, टो, अफ–रोड, कस्टम) ले कठिन भू–बनोटमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ।
लामो यात्रालाई सहज बनाउन यसमा १०२.२ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ।
जसले एक पटकको पूर्ण चार्जमा ४३० किमी (डब्लुएलटिपी) सम्मको दूरी प्रदान गर्छ। द्रुत चार्जिङ प्रविधिमार्फत यसलाई मात्र ४२ मिनेट (०.७ घण्टा) मा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
गाडीको भित्री बनावट अत्यन्तै विलासी छ। यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबिएल अडिओ प्रणाली र ६४ रङको एम्बियन्ट लाइटिङ रहेको छ।
फ्ल्यागशिप भेरियन्टमा चालकको सिटका लागि ८–वे इलेक्ट्रोनिक समायोजन, भेन्टिलेसन, मसाज र मेमोरी फङ्सन जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन्।
सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामरा, एडाप्टिभ क्रुज कन्ट्रोल (एसिसी), अटोनोमस इमर्जेन्सी ब्रेकिङ (एइबी), र लेन किप असिस्ट जस्ता उन्नत चालक सहयोग प्रणाली (एडास) विशेषताहरू समावेश छन्।
यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि रहेको बताइएको छ।
यसको ३५०० केजीसम्मको लोडिङ क्षमता र भेहिकल–टु–लोड (भिटुएल) प्रविधिका कारण प्रयोगकर्ताले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू पनि चलाउन सक्नेछन्।
नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै एमजी यू९ इभीले प्रिमियम पिकअप खण्डमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ।