सन् २०२६ अप्रिल २४ मा भएको 'बेइजिङ अटो शो २०२६' ले विश्व अटोमोबाइल जगतलाई एउटा नयाँ सन्देश दिएको छ।
यस दिन बिवाइडीले आफ्नो नयाँ मोडल 'ग्रेट ट्याङ' सार्वजनिक गर्यो।
यसको बुकिङ खुला भएको २४ घन्टामा चिनियाँ ग्राहकहरूले ३० हजार वटाभन्दा बढी अर्डर दिए। योसँगै बिवाइडीले एउटा नयाँ इतिहास रच्यो।
ग्रेट ट्याङप्रति चिनियाँ बजारमा देखिएको यो उत्साहले प्रिमियम इभी प्रतिको बढ्दो क्रेज प्रस्ट पारेको छ।
यो गाडी बिवाइडीको 'डाइनास्टी' सिरिज अन्तर्गतको एसयूभी हो।
यसको लम्बाइ ५,३०२ मिमी (करिब ४.९७ मिटर), चौडाइ १,९९९ मिमी (करिब १.९५ मिटर) र उचाइ १,८०० मिमी (१.७२ मिटर) छ। यसको ३,१३० मिमी ह्विलबेसले यसको भित्री भागमा निकै फराकिलो स्पेस उपलब्ध गराएको छ।
यो सात सिट क्षमताको गाडी हो। विशेष गरी दोस्रो र तेस्रो लहरमा बस्ने यात्रुलाई बिजनेस क्लासको अनुभव प्रदान गराउने कम्पनीको दाबी छ।
यो गाडी बिवाइडीको सुपर इ–प्लेटफर्ममा आधारित छ। यसमा सेकेन्ड जेनेरेसनको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन सुरक्षा र ऊर्जा घनत्वको हिसाबले उत्कृष्ट मानिन्छ।
ग्रेट ट्याङको सबभन्दा ठूलो आकर्षण यसको १००० भोल्टको आर्किटेक्चर हो। यसले गर्दा यो गाडीले १००० किलोवाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्छ। मात्र ५ मिनेटको चार्जमा यसले २०० किलोमिटर भन्दा बढीको रेन्ज दिन सक्छ।
यसको भेरियेन्ट अनुसार एक पटकको पूरा चार्जमा करिब ८५० देखि ९५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
गाडीभित्र स्मार्ट हेल्थ इको क्याबिन छ। यसको ड्यासबोर्डमा तीनवटा ठूला स्क्रिनहरू छन् — एउटा चालकका लागि, एउटा मनोरञ्जनका लागि र एउटा यात्रुका लागि।
पछाडिको सिटमा बस्नेहरूका लागि छतमा झुन्ड्याइएको छुट्टै इन्टरटेनमेन्ट डिस्प्ले छ। सँगै फोल्डिङ टेबल र एउटा सानो फ्रिज समेत पाइन्छ। यसमा २७ वटा स्पिकरको प्रिमियम अडियो सिस्टम छ।
गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमीदेखि २५० मिमी छ। सडकका खाल्डाखुल्डीमा पनि भित्र बस्ने यात्रुले झड्का महसुस गर्दैनन्।
यसको मूल्य ३६,२०० देखि ४६,४०० अमेरिकी डलरसम्म पर्ने अनुमान छ।