चितवनमा आज (बिहीबार)देखि 'अटो शो' आयोजना हुँदैछ।
चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा वैशाख २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागिएको हो।
चितवन अटोमोबाइल्स एसोसिएसन (काडा) का अध्यक्ष इन्द्रप्रसाद रेग्मीले यस प्रदर्शनीले सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने र अर्थतन्त्रमा सकारात्मक उर्जा थप्ने दाबी गरे।
आयोजकले यहाँ गर्न लागेको प्रदर्शनी काठमाडौं बाहिरको सबैभन्दा उत्कृष्ट रहने दाबी गरेको छ।
अटो शोका संयोजक राजन पियाका अनुसार करिब १० हजार दर्शकले अवलोकन गर्ने र ५० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
प्रदर्शनीमा साना-ठूला गरी विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटरका ७५ वटा स्टल रहनेछन्।
विशेष गरी विद्युतीय सवारी र नवीन प्रविधिहरूबारे उपभोक्तालाई सूचित र आकर्षित गर्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको पियाले बताए।
मेलामा बैंक तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने हुनाले ग्राहकले 'अन-द-स्पट' फाइनान्स र इन्स्योरेन्सको सुविधा पाउनेछन्।
यसका साथै पुराना 'भेन्टेज' गाडी र महँगा 'बिग बाइक' को प्रदर्शनी, मोटरसाइकल स्टन्ट, जिमखाना र टिडिएस र्याली मेलाका थप आकर्षणका रूपमा रहेको पियाले बताए।
प्रदर्शनीमा 'अटो सेमिनार' र विद्यार्थीहरूलाई लक्षित गरी 'हेल्मेट प्रयोग सचेतना' कार्यक्रम पनि गरिँदैछ।
सो क्रममा एक सय जना विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको हेल्मेट वितरण गरिने संयोजक पियाले बताए।
आयोजक संस्था चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहन केसीका अनुसार गत वर्षको प्रदर्शनीमा एक सय बढी गाडी प्रदर्शनी स्थलबाटै बुकिङ भएका थिए।
यस वर्ष दुई सय गाडी बुकिङ हुने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रमलाई महिन्द्राले मुख्य प्रायोजन र एमजीले सह-प्रायोजन गरेका छन्।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जिवी सुवेदी र उद्योग संघ चितवनका अध्यक्ष मदन घिमिरेले यस प्रदर्शनीले चितवनको बजारलाई चलायमान बनाउने र हाल देखिएको आर्थिक मन्दीमा बजारलाई गति दिने विश्वास व्यक्त गरे।