पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन्।
असीममान सिंह बस्न्यातले पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो।
थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन्।
सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए। उनी पठाओ ग्रुपका वरिष्ठ उपाध्यक्ष पनि हुन्।
पठाओ नेपालले थकालीको नेतृत्वमा आगामी पाँच वर्षभित्र नेपालको डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य लिएको छ।
यसका लागि पठाओले पार्सलमार्फत देशभर पूर्वाधार विस्तार गर्दै पार्सल डेलिभरी, फुड डेलिभरी, इ-कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवाहरूलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने तयारी गरिरहेको जनाएको छ।
सुरूमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि कम्पनी व्यवस्थापन र सञ्चालनको पनि जिम्मेवारी निर्वाह गरेका थिए।
नेपालमा राइड सेवासहित सुरू भएको पठाओ नेपाललाई पछिल्लो समय फुड डेलिभरी, पार्सल डेलिभरी जस्ता अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा सफल बनाउन थकालीको भूमिका महत्वपूर्ण छ।
जसले गर्दा प्रतिस्पर्धात्मक बजारमा पठाओ नेपाल सजिलै उभिन सकेको छ।
पछिल्लो दुई वर्षमा थकालीको नेतृत्वमा बंगलादेशमा पनि पठाओले राम्रो बजार बनाइरहेको छ।
त्यहाँ पठाओ बाइक, कार र आटोरिक्साको सेवा तीन गुणासम्म वृद्धि भएको छ।
पेशाले चार्टड एकाउण्टेण्ट (सिए) रहेका थकालीसँग भारतको बैंग्लोरस्थित सिए फर्ममा काम गरेको अनुभव छ।
उनले सिजी ग्रुपमा एसेट्स म्यानेजरको रूपमा सात वटा देशमा रहेका सिजीका ४२ वटा प्रोपटिज सम्हालिसकेका छन्।