यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दै गएको तथा आवागमनमा कठिनाइ उत्पन्न भएको भन्दै विभागले यस्तो निर्णय गरेको हो।
विभागका निर्देशक मणि राम भुसालले बुधबार सातै प्रदेश सरकारका मन्त्रालयहरूलाई पत्राचार गरी बढ्दो इन्धन मूल्यका कारण सार्वजनिक सवारी तथा यातायात क्षेत्रमा देखिएको असहजता र कठिनाइलाई व्यवस्थापन गर्न सार्वजनिक सवारीको उचित व्यवस्थापन आवश्यक देखिएको उल्लेख गरिएको छ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ को उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले कुनै किसिमका सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ।
सोही कानुनी व्यवस्थाअनुसार नेपाल सरकारले अर्को सूचना जारी नगरेसम्म सार्वजनिक सवारीसाधन (विद्युतीय सार्वजनिक सवारीसाधन समेत) को नयाँ दर्ता रोक्न प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले पत्र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पठाएको छ।
