नेपालका लागि बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको स्पष्ट पारेको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै सरकारी तहबाट सूचना चुहाई ठूलो संख्यामा विद्युतीय गाडी ल्याएको भन्ने आरोप असत्य रहेको बताएको छ।
सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुऱ्याउने खालका भएको कम्पनीको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, 'कोराला नाका हुँदै आयात भएको ७७४ युनिट गाडी गए राति सशस्त्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। त्यसपछि संचार माध्यम र सार्वजनिक रुपमा उक्त गाडी बारे विभिन्न चर्चा भइरहेको छ।'
आफूले कोरला र रसुवा दुवै भन्सारबाट सबै प्रक्रिया पूरा गरी गाडी आयात गरेको साइमेक्सले उल्लेख गरेको छ।
कम्पनीका अनुसार मुस्ताङ भन्सारबाट (जेठ १२ र १३ गते) ६४९ र रसुवा भन्सारबाट (वैशाख २३ देखि जेठ १३ सम्म) ४७२ वटा गाडी आयात गरिएको छ।
ती गाडी ल्याउँदा कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र कुनै अनुरोध समेत नगरेको कम्पनीले स्पष्ट पारेको छ।
'हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रिया अनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्,' कम्पनीले भनेको छ।
यी बाहेक २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म नेपालमा भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको जनाएको छ।
बजेट अघि आयात गरिएका ती गाडी ग्राहकले पहिले नै बुकिङ गरेकाले डेलिभरी दिन र बढ्दो मागलाई मध्येनजर गर्दै ल्याइएको कम्पनीले जनाएको छ।
आयात सम्बन्धी सम्पूर्ण गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका र प्रचलित कानुनका आधारमा संचालन गरिने कम्पनीको भनाइ छ।
'यी सम्पूर्ण आयात कार्यहरू बीवाइडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापन सम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्। सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको हो,' साइमेक्सले भनेको छ।
कम्पनीले कानुनको पालना, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता रहेको जनाएको छ।
साथै, कम्पनीले सरकारद्वारा गरिने कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ।
सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजात उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।
सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफू पूर्ण रूपमा तयार रहेको समेत कम्पनीले बताएको छ।