विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सुरक्षित यात्रालाई थप सुदृढ बनाउने उद्देश्यका साथ 'सेफ ड्राइभिङ अनलाइन कोर्स' सार्वजनिक गरेको छ ।
मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा तथा प्रत्येक यात्रामा सुरक्षित रूपमा अघि बढ्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ।
यो सेफ ड्राइभिङ अनलाइन कोर्स हाल सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले कोर्स पूरा गरिसकेका छन्।
अब यो कोर्स नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुऱ्याउने लक्ष्य राखिएको छ।
चालकहरूको सहजतालाई ध्यानमा राखेर तयार गरिएको कोर्स ड्राइभर पार्टनरहरू निरन्तर यात्रामा रहने यथार्थलाई ध्यानमा राख्दै इनड्राइभ नेपालले यो कोर्स छोटो, व्यावहारिक र सजिलै पहुँचयोग्य बनाएको छ।
करिब २० मिनेटमै पूरा गर्न सकिने यो कोर्स चालकहरूको समय र व्यस्ततालाई मध्यनजर गर्दै डिजाइन गरिएको बताइएको छ।
सेफ ड्राइभिङ अनलाइन कोर्सलाई तीनवटा मुख्य मोड्युलमा विभाजन गरिएको छः
कोर्स ए– अन–प्ल्याटफर्म सुरक्षा र व्यावसायिक सीमाहरूः
यो मोड्युलले चालकहरूले प्लेटफर्मभित्र यात्रुहरूसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कसरी कायम राख्ने भन्ने विषयमा केन्द्रित छ।
साथै, यात्राका क्रममा आवश्यकव्यावसायिक सीमा निर्धारण गर्ने र त्यसलाई कायम राख्ने विषयहरू पनि समेटिएको छ।
कोर्स बी– राइड–हेलिबका लागि सडक सुरक्षा सम्बन्धी आधारभूत ज्ञानः
यो मोड्युल राइड–हेलिब सेवाको वास्तविक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको हो।
यसमा रक्षात्मक ड्राइभिङ बानी, ट्राफिक बढी हुने क्षेत्र वा अपरिचित स्थानमा अपनाउनुपर्ने सतर्कता तथा व्यवहारिक सडक सुरक्षा सम्बन्धी ज्ञान समावेश गरिएको छ ।
कोर्स सी– आपत्कालीन अवस्था, रिपोर्टिङ र एसओएस प्रयोगः
यो मोड्युलले चालकहरूलाई आपत्कालीन अवस्थामा शान्त र प्रभावकारी रूपमा प्रतिक्रिया दिन तयार पार्ने उद्देश्य राखेको छ।
यसमा इनड्राइभएपभित्र उपलब्ध एसओएस सुविधा कसरी प्रयोग गर्ने तथा कुनै घटना भएमा सही रिपोर्टिङ च्यानल कसरी अपनाउने भन्ने विषय समावेश छ।
प्रत्येक मोड्युलमा पाँच मिनेटको शैक्षिक भिडिओ र पाँचवटा बुझाइसम्बन्धी प्रश्नहरू समावेश छन्, जसले सिकाइलाई सरल, केन्द्रित र प्रभावकारी बनाउँछ।
सेफ ड्राइभिङ अनलाइन कोर्स पूरा भएको प्रमाणपत्र प्राप्त गर्न चालकहरूले सबै मोड्युलका प्रश्नहरूमा कम्तीमा ८० प्रतिशत सही उत्तर दिनु पर्नेछ।
पहिलो प्रयासमा पास नभए पनि चालकहरूले कुनै सीमाबिना
पुनः क्विज दिन सक्नेछन्।
इनड्राइभका लागि चालक पार्टनर र यात्रुको सुरक्षा केवल अतिरिक्त विषय होइन, प्लेटफर्मकोसञ्चालन मूल्यको मुख्य आधार रहेको कम्पनीको भनाइ छ।
यो कोर्सले चालकहरूको हित र सुरक्षाप्रति इनड्राइभको प्रत्यक्ष प्रतिबद्धता झल्काउँछ।
जसअन्तर्गत प्लेटफर्ममा रहेका प्रत्येक चालकलाई चालक तथा यात्रु दुवैको सुरक्षाका लागि व्यावहारिक र प्रमाणमा आधारित सुरक्षा तालिममा पहुँच उपलब्ध गराइन्छ।