जनस्तरबाट व्यापक विरोध हुने देखिएपछि सरकारले ‘ब्लु बस’ अवधारणाअन्तर्गत साझा यातायातका केही गाडीको रङ परिवर्तन गरेर निलो बनाउने तयारीबाट पछि हटेको छ।
यसको अर्थ अब साझा बसहरू अहिलेकै हरियो रङमै सञ्चालन हुने भएका छन्।
निःशुल्क सेवा दिने बसको संख्या पनि अझै टुंगो लागेको छैन। ६ वटा वा ८ वटा बस सञ्चालन गर्नेबारे छलफल भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको यातायात व्यवस्था विभाग र साझा यातायातका अधिकारीहरूले बताएका छन्।
बालेन शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि बढाएको थियो। सुरूमा साझा यातायातका हरियो बसको रङ नै परिवर्तन गरेर निलो बनाएर सञ्चालन गर्न साझा यातायात र सरकारका प्रतिनिधिहरू बीच अनौपचारिक छलफल भएका थिए।
त्यसपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यसको व्यापक चर्चा र आलोचना भएको थियो।
तर अहिले सरकारको तयारी बदलिएको छ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले पहिले नै कलर परिवर्तन गर्ने विषयमा निर्णय नभएको दाबी गरे।
‘मुख्य कुरा कलर भन्दा सेवा हो। पहिले एआई जेनेरेट धेरै निलो कलरको गाडीको कारण व्यापक बहस भयो। हामीलाई धेरै सुझावहरू पनि आए। हामीले ती सुझावहरू मनन गरेका छौँ।’
साझाका अधिकारीहरूका अनुसार साझा बसको मौलिक हरियो रङ परिवर्तन नगरिने निचोडमा सरकार र साझाका प्रतिनिधि पुगेका हुन्।
‘ब्लु बस’ नाम भने सांकेतिक रूपमा प्रयोग हुने बताइएको छ। बसमा स्टिकर वा ब्यानर राख्ने विकल्पबारे छलफल भए पनि पूरा बस निलो बनाउने निर्णय भएको छैन।
सरकार र साझा यातायातबीच सेवा सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको छ।
साझा यातायात र यातायात व्यवस्था विभागबीच समझदारी पत्र (एमओयू) तयार गर्ने काम भइरहेको साझा यातायातले जानकारी गराएको छ। एमओयूमा हस्ताक्षर भएपछि मात्र सेवा सञ्चालनको मोडालिटी र कार्ययोजना अन्तिम हुनेछ।
अहिलेसम्म महिलाले मात्र चढ्ने कि उनीहरूसँग सहयोगी पनि जान पाउने भन्ने विषय पनि टुंगो लागेको छैन। निःशुल्क यात्रा कसरी व्यवस्थापन गर्ने, टिकट प्रणाली कस्तो हुने र खर्चको भुक्तानी कसरी गर्ने भन्ने विषय पनि कार्यविधिमार्फत तय गरिनेछ।
साउन १ गतेदेखि सेवा सुरू हुने वा नहुने विषयमा पनि औपचारिक निर्णय भइसकेको छैन। आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्रै सञ्चालन मिति तय हुने अधिकारीहरू बताउँछन्।
यातायात व्यवस्था विभागका निर्देशक गणेशसिं राईले पनि अहिले समझदारी पत्र तयार गर्ने काम भइरहेको बताए।
उनका अनुसार दस्तावेजमा हस्ताक्षर भएपछि मात्रै सेवा सञ्चालनको विस्तृत कार्ययोजना लागू हुनेछ।
हालसम्म यो विषय औपचारिक निर्णयको चरणमा पुगिनसकेको र प्रस्ताव तथा छलफलकै अवस्थामा रहेको उनको भनाइ छ।
यसअघि मन्त्रालयले साझा यातायातका ८ वटा बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने तयारी गरेको जनाएको थियो। त्यसका लागि वार्षिक करिब ३ करोड रुपैयाँ सरकारी खर्च लाग्ने अनुमान पनि गरिएको थियो।
सरकारले यो योजनालाई शासकीय सुधारका १०० कार्यसूचीको ९७औँ बुँदामा समावेश गरेको छ। बालेन शाह नेतृत्वको सरकार गठन भएको भोलिपल्ट स्वीकृत गरिएको उक्त कार्यसूचीअनुसार १०० दिनभित्र ब्लु बस सञ्चालन गर्ने लक्ष्य राखिएको थियो।
तर योजना सार्वजनिक भएसँगै यसको राजनीतिक अर्थ खोज्न थालिएको थियो। सरोकारवालाले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा सञ्चालन गरेको ‘ब्लु बस’को नक्कल भएको टिप्पणी गरेका थिए।
लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि २०८० वैशाखमा चितवन–२ मा आफ्नै खर्चमा ‘ब्लु बस’ सञ्चालन गरेका थिए। महिलाले निःशुल्क यात्रा गर्न पाउने गरी भाडामा बस लिएर सेवा सुरू गरिएको थियो। ती बस करिब पाँच महिनासम्म सञ्चालनमा रहे।
चितवनमा चलाइएका ती बसको रङ र त्यसमा प्रयोग गरिएको अक्षरको रङ रास्वपाको झण्डासँग मिल्ने भएकाले त्यतिबेला पनि राजनीतिक बहस भएको थियो।
यसपटक पनि काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारी तयारी सार्वजनिक भएपछि साझा बसको रङ परिवर्तन गरेर राजनीतिक सन्देश दिन खोजिएको आरोप लागेको थियो।