नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली फुटबलको जग मजबुत बनाउने उद्देश्यका साथ 'हुन्डाई नेक्स्ट जेन कप' सफलतापूर्वक सम्पन्न गरेको छ।
ललितपुरस्थित च्यासल मैदानमा एजी १० एकेडेमीसँगको सहकार्यमा आयोजित यस १६ वर्षमुनिको एक दिने प्रतियोगिताले ग्रास रुट फुटबलको विकास र युवा प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्ने हुन्डाई नेपालको दीर्घकालीन लक्ष्यलाई थप प्रस्ट पारेको छ।
प्रतियोगितामा हुन्डाईका विभिन्न चर्चित मोडलहरूको नाममा नामकरण गरिएका आठ वटा टोलीका कुल ८० जना युवा खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
सहभागी टोलीहरूमा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक ५, टिम एक्स्टेर, टिम कोना, टिम क्रेटा, टिम ग्राण्ड आई १० नियोस र टिम प्यालिसेड रहेका थिए।
अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरूका बीच 'टिम भेन्यू'ले उपाधि हात पार्न सफल भयो भने 'टिम क्रेटा इलेक्ट्रिक' उपविजेतामा सीमित भयो।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा रहेको हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन 'नेक्स्ट स्टार्ट्स नाउ' लाई नेपालको स्थानीय फुटबलसँग जोड्ने प्रयास गरेको छ।
विश्वभर विश्वकपको रौनक बढिरहेका बेला हुन्डाई नेपालले भने भविष्यका स्टार खेलाडीहरू उत्पादन हुने थलो अर्थात् ग्रास रुट फुटबललाई प्राथमिकतामा राखेर यो अभियान सञ्चालन गरेको हो।
एजी १० एकेडेमीसँगको यो सहकार्यले नेपाली फुटबलको जगलाई तल्लो तहदेखि नै बलियो बनाउने र खेलाडीहरूलाई व्यवस्थित प्रशिक्षण र प्रतिस्पर्धाको अनुभव दिलाउने साझा उद्देश्यलाई साकार पारेको छ।
प्रतियोगिताको समापनका अवसरमा एजी १० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले हुन्डाईको यस पहलको उच्च प्रशंसा गरे।
उनले भने, 'नेपालमा फुटबल प्रतिभाको कुनै कमी छैन, कमी छ त केवल सही अवसर र प्रोत्साहनको। यस्ता प्रतियोगिताले युवा खेलाडीहरूलाई ठूलो सपना देख्न र त्यसलाई पछ्याउन आवश्यक पर्ने आत्मविश्वास प्रदान गर्दछन्। हुन्डाई नेपालको यो साथले नेपाली फुटबलको भविष्यलाई निश्चित रूपमा सकारात्मक दिशा दिनेछ।'