नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले चेरी क्यूलाई नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
विश्वप्रसिद्ध २०२५ रेड डट डिजाइन अवार्ड तथा २०२६ आईएफ डिजाइन अवार्ड प्राप्त गरेको चेरी क्यूलाई नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गरिने भएको हो।
विश्वकै प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिने रेड डट डिजाइन अवार्ड २०२५ ले चेरी क्यूलाई यसको आकर्षक डिजाइन, नवीन सोच तथा सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनका लागि सम्मानित गरेको कम्पनीको दाबी छ।
अन्तर्राष्ट्रिय डिजाइन विज्ञहरूको निर्णायक मण्डलद्वारा प्रदान गरिने यस पुरस्कारले नवप्रवर्तन, गुणस्तर तथा उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई नयाँ उचाइमा पुर्याउने उत्पादनहरूलाई सम्मान गर्ने गर्दछ।
चेरी क्यूले आधुनिक सहरी विद्युतीय सवारीको नयाँ परिकल्पना प्रस्तुत गर्दै भविष्यमुखी डिजाइन र स्मार्ट इन्जिनियरिङको उत्कृष्ट संयोजन प्रदान गर्दछ।
यसको सफा तथा आकर्षक बाह्य डिजाइन, न्यूनतम डिजाइन अवधारणामा आधारित प्रिमियम इन्टेरियर, विशेष लाइटिङ सिग्नेचर तथा फराकिलो क्याबिनले आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको क्रसओभरको परिचय दिन्छ।
नेपाली ग्राहकहरूले ११ देखि १६ अगस्ट २०२६ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक अन्तर्राष्ट्रिय पुरस्कार विजेता चेरी क्यूलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्।
दैनिक सहरी यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले विकास गरिएको चेरी क्यू मा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।
जसले एनइडिसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ।
रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) प्लेटफर्ममा आधारित यस अर्बन क्रसओभरले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै उच्च ऊर्जा दक्षता पनि प्रदान गर्दछ।
आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गुणस्तर तथा अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।