परिकल्पना गर्नुस्, दुर्घटनाको कारण तपाईंको सवारी नचल्ने भयो। तपाईंले सवारीको बीमा गर्नु भएको छ। यही कारण बिग्रेको गाडीको विषयमा तपाईं धेरै चिन्तित हुनु हुन्न।
तर, तपाईं यात्राको क्रममा बीच बाटामा हुनुहुन्छ। त्यसैले पीर छ, त्यहाँबाट गन्तब्यसम्म चाँही कसरी पुग्ने? यस्तोमा जो कसैलाई लाग्छ, गन्तब्यसम्म पुग्न सवारी व्यवस्थापनको पनि कुनै माध्यम भए हुन्थ्यो।
तपाईंलाई विश्वास नलाग्ला तर यस्तो सुविधा तपाईंले बीमा गरेकै कम्पनीबाट पनि पाउन सक्नुहुन्छ।
‘अहिले एकाधबाहेक सबै निर्जीवन बीमा कम्पनीहरूले अटो प्लस सेवा सञ्चालनको लागि अनुमति लिएका छन्,’ नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले भने, ‘धेरैले यो सेवा सञ्चालनमा समेत ल्याएका होलान्।’
यस्तै सेवा ल्याएको एक कम्पनी शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे भन्छन्, ‘हामीले धेरै अघिदेखि नै यस्तो सेवा दिइरहेका छौं, गाडी दुर्घटना भएको दिनदेखि नै दैनिक १५ सय रूपैयाँ उपलब्ध गराउँछौं।’
कम्पनीले करिब १५ दिनको लागि यस्तो सुविधा दिने गरेको छ। यस्तै सेवा दिइरहेको सिद्धार्थ प्रिमियर इन्सुरेन्सले भने इभी सवारीमा मात्रै यस्तो सुविधा दिइरहेको छ।
कम्पनीले पनि १५ दिनसम्मको लागि दैनिक २५ सय रूपैयाँ दिने गरेको कम्पनीका नायब महाप्रबन्धक नवराज पराजुलीले बताए।
यस्तो सुविधा लिन सवारी बीमा मात्रै गरेर भने हुँदैन। यसको लागि अटो प्लस सेवा लिएको हुनुपर्छ।
सवारीमा मात्रै होइन, अन्य मुलुकमा घर तथा आवासमा समेत क्षति हुँदा कम्पनीहरूले बीमा भुक्तानी हुनुभन्दा अघि केही समयलाई बस्ने प्रबन्ध मिलाइदिने गर्छन्।
नेपालमा भने हालसम्म कुनै कम्पनीले आवास बीमामा भने यस्ता अतिरिक्त सुविधा दिने गरेर बीमा लेख ल्याएका छैनन्।
अटो प्लस सेवाको लागत धान्न समेत समस्या रहेकोले यस्ता अन्य बीमा लेख ल्याउन सक्ने अवस्था नरहेको कम्पनीहरू बताउँछन्।
धेरैले केही सवारी बीमामा मात्रै अटो प्लस सुविधा थपेर बीमा लेख जारी गर्दै आएका छन्।
‘कम्पनीहरूले अन्य कुनै व्यवसाय जोडिएका र त्यस्तो व्यवसायको समेत बीमा हुने अवस्थामा मात्रै यस्तो सुविधा दिइरहेका छन्,’ एक बीमा कम्पनीका कर्मचारीले भने, ‘अहिले लिइने बीमा शुल्कले यो सुविधाको लागत धान्न समस्या रहेकोले पनि अन्य व्यवसायसमेत पाइने अवस्थामा मात्रै कम्पनीहरूले यस्तो सुविधा दिइरहेका छन्।’
हालै भएको जेनजी आन्दोलनको क्रममा सवारी साधनहरूमा पनि आगजनी भयो। कतिले अटो प्लस सेवा लिएका थिए र सो समय कतिले यस्तो सुविधा पाए भन्ने तथ्यांक भने उपलब्ध छैन।