नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित पाँच जना उच्च व्यवस्थापनका अधिकारीसँग सात दिनभित्र स्पष्टीकरण माग गरेको छ।
कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा प्राधिकरणले स्पष्टीकरण माग गरेको हो।
सिइओ उपासना पौडेल, डेपुटी सिइओ मुकेश कुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनिश कुमार, शिशिर गैह्रे र सन्तोष केसीसँग स्पष्टीकरण सोधिएको हो।
प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा आर्थिक अनियमितताको संकेत देखिएपछि सम्बन्धित अधिकारीहरूलाई स्पष्टीकरण सोधिएको हो।
'उनीहरूबाट प्राप्त जवाफका आधारमा थप कारबाही गर्ने वा नगर्ने विषयमा निर्णय गरिनेछ,' उनले जानकारी दिइन्।
यसअघि सम्पत्ति शुद्धीकरण विभाग ले फागुन २८ गते प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दिपक भट्टको लागि नेपाल पुनर्बीमा कम्पनी लगायत विभिन्न कम्पनीहरूको सेयर खरिदका लागि हिमालयन रि–इन्स्योरेन्स तथा यससँग सम्बद्ध संस्थाबाट ३ अर्ब ८१ करोड रूपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।
भट्टको नाममा खरिद भएको सेयर भुक्तानीका लागि हिमालयन रि इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, यसैको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रूपैयाँ प्रयोग भएको थियो।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआइ लार्ज क्याप फण्डको २५ करोड १४ लाख सहित कुल तीन अर्ब ८१ करोड रूपैयाँ भुक्तानी भएको हो।
हाल भट्ट र अर्का व्यवसायी सुलभ अग्रवाल माथि यो कारोबारको सिलसिलामा अनुसन्धान भइरहेको छ।