सेयर बजार परिसूचक नेप्सेमा लगातार तीन दिनदेखि सुधार देखिइरहेको छ।
गत शुक्रबार करिब ७ अंकले बढेको बजार आइतबार २७ अंकले बढ्यो।
सोमबार नेप्से परिसूचक बजार बन्द हुँदा ३८.१९ अंकले बढेर २७८३.८५ विन्दु पुगेको छ।
शुक्रबार २७ सय विन्दुसम्म पुगेको नेप्से त्यसपछि सुधार हुने क्रममा देखिएको हो।
तर, कारोबार रकम यसअघिका दिनहरूमा झै सुधार हुन सकिरहेको छैन।
विशेषगरी सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानमा सुधार नभएकै कारण नेप्से बढ्न नसकिरहेको ब्रोकरहरूले बताइरहेका छन्।
त्यसबाहेक पछिल्लो समय नेप्सेले गरेको कडाइले पनि बजारमा कारोबार रकम उल्लेख्य घटेको देखिएको छ।
नेप्सेले वैशाख १६ गते ब्रोकर कम्पनीहरूलाई परिपत्र जारी गर्दै कारोबार गरिने रकमको २५ प्रतिशत बराबर रकम अग्रिम रूपमा अनिवार्य लिन निर्देशन दिएको थियो।
त्यसअघि दैनिक ४ देखि ६ अर्ब रूपैयाँ बराबरको कारोबार भइरहेको बजारमा अहिले चार अर्ब रूपैयाँ पनि नाघ्न सकेको छैन।
सोमबार बजारमा ४ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएको छ।
नेप्सेको निर्देशन अघिसम्म बजारमा उधारोमा सेयर कारोबार गर्ने प्रवृत्ति धेरै भएकोले पनि बजारमा कारोबार रकम उच्च हुने गरेकोमा पछिल्लो समय घट्दै गएको हो।
यसदिन ३३२ वटा धितोपत्रको एक करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्।
यसदिन फर्स्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १४.१९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९१९ रूपैयाँ पुगेको छ।
यस्तै, कुमारी धनवृद्धि योजनाको मूल्य ११.३७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य १२ रूपैयाँ ५४ पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा त्रिशूली जलविद्युत रहेको छ।
उक्त कम्पनीको मूल्य २.८७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५४४ रूपैयाँ ९० पैसामा झरेको छ
यसैगरी, एनएमबी ५० को मूल्य २.६९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ ५० पैसामा सीमित भएको छ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको तीन हजार ८२५ रूपैयाँमा २१ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमानेसनल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको २९६ रूपैयाँ ५० पैसामा १७ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ।