सरकारले वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम 'सोभरेन वेल्थ फण्ड' का रूपमा परिचालन गर्ने नीति लिएको छ।
चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिना (साउनदेखि चैतसम्म) मा विदेशी मुद्राको सञ्चिति करिब ३५ खर्ब रूपैयाँ छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्रीलगायत रणनीतिक महत्वका आयोजनामा लगानी गर्न 'मातृभूमि कोष' स्थापना गरिने बताएका हुन्।
सोभरेन वेल्थ फण्ड भनेको कुनै देशको सरकार वा केन्द्रीय बैंकद्वारा स्थापना गरिएको दीर्घकालीन लगानी कोष हो, जसमा मुख्य रूपमा विदेशी मुद्रा सञ्चिति, निर्यातबाट प्राप्त अतिरिक्त आम्दानी, प्राकृतिक स्रोत (जस्तै तेल, ग्यास)बाट प्राप्त राजस्व वा बजेट बचत जस्ता सरकारी स्रोतहरू प्रयोग गरिन्छ।
यसको उद्देश्य देशको आर्थिक सम्पत्ति सुरक्षित रूपमा व्यवस्थापन गर्दै भविष्यका लागि स्थिर र दीर्घकालीन प्रतिफल प्राप्त गर्नु हो।
यस्ता कोषहरू सामान्यतया अन्तर्राष्ट्रिय शेयर बजार, बन्ड, रियल स्टेट, पूर्वाधार परियोजना, तथा वैकल्पिक लगानी क्षेत्रमा लगानी गरिन्छ।
सोभरेन वेल्थ फण्डले अर्थतन्त्रलाई बाह्य झट्काबाट जोगाउन, विदेशी मुद्रा सञ्चिति विविधीकरण गर्न, तथा दीर्घकालीन विकास परियोजनामा स्रोत उपलब्ध गराउन मद्दत गर्छ।
यसलाई 'राष्ट्रिय लगानी कोष' पनि भन्न सकिन्छ, जसले वर्तमानभन्दा भविष्यको आर्थिक स्थायित्वलाई प्राथमिकता दिन्छ।
त्यस्तै, विदेशी ऋण वा लगानीका आयोजनामा हुने विनिमय जोखिम न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख गरिएको छ।