सरकारले घरायसी विद्युतीय उपकरणहरू किस्ताबन्दी (हायर पर्चेज) मा खरिद गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको छ।
शुक्रबार ल्याइएको आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वासिङ मेसिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर लगायतका उपकरणहरू सहज रूपमा खरिद गर्न सकिने नीति ल्याइने जानकारी दिएका हुन्।
घरायसी क्षेत्रमा विद्युत प्रयोग बढाउने, पेट्रोलियम पदार्थमा निर्भरता घटाउने र वातावरणीय प्रदूषण कम गर्ने सरकारको लक्ष्य रहेको छ।
बैंक तथा वित्तीय संस्थामार्फत हायर पर्चेज कर्जा सुविधा उपलब्ध गराइनेछ।
यसले विद्युतीय उपकरणको बजार विस्तार हुनुका साथै देशभित्र उत्पादन भएको विद्युतको खपत बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
जलविद्युत उत्पादन बढ्दै गएको अवस्थामा आन्तरिक विद्युत खपत बढाउन सरकारले यस्तो नीति अघि सारेको हो।
यस कदमले स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै हरित अर्थतन्त्र निर्माणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।