अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने स्पष्ट पारेका छन्।
सेयर लगानीकर्ताबीच करसम्बन्धी देखिएको अन्योल हटाउन सरकारले यस विषयमा स्पष्ट व्यवस्था गरेको उनले बताए।
बजेटपछि आइतबार पत्रकारहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम करका रूपमा मानिने र त्यसमा थप कर नलाग्ने दोहोर्याए।
उनले भारतमा सेयर कारोबारको अवधि अनुसार अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर फरक–फरक दरमा लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा भने लामो समयदेखि पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने विषयमा दुविधा रहेको बताए।
'भारतमा सेयरमा अल्पकालीन र दीर्घकालीन कारोबारको आधारमा १० र २० प्रतिशतसम्म कर लाग्छ। नेपालमा भने सधैं अन्तिम हो कि होइन भन्ने दुविधा थियो। लगानीकर्ताहरूको सुझावपछि हामीले यसलाई अन्तिम करका रूपमा स्पष्ट गरेका हौं,' उनले भने।
केही पक्षले अनावश्यक रूपमा भ्रम फैलाएको दाबी गर्दै उनले करको विषयमा गलत व्याख्या नगर्न आग्रह गरे।
'हामीलाई अतिरिक्त माया नगर्ने साथीहरूले भ्रम छरे होलान्। धेरैलाई ४० लाख रुपैयाँको सीमाबारे पनि दुविधा भएको हुन सक्छ,' उनले भने।
अर्थमन्त्रीका अनुसार सेयर कारोबारबाहेक अन्य व्यवसाय वा आम्दानीका स्रोत भएका व्यक्तिले सम्बन्धित कारोबारअनुसार कर तिर्नुपर्ने भए पनि सेयर कारोबारबाट प्राप्त लाभमा भने पुँजीगत लाभकर नै अन्तिम कर हुनेछ।
'करमाथि कर लाग्दैन। यदि व्यवस्था कार्यान्वयनका क्रममा कतै गल्ती भएको रहेछ भने आउनुस्, हामी सच्याउन तयार छौं,' उनले भने।
उनको भनाइले बजेट सार्वजनिक भएपछि सेयर लगानीकर्ताबीच देखिएको कर सम्बन्धी अन्योल हटाउने अपेक्षा गरिएको छ।
केही कर विज्ञहरूले आर्थिक विधेयक २०८३ ले अन्तिम कर कट्टी हुने भुक्तानीमा व्यवस्थामा आय विवरण बुझाउन नचाहने (नपर्ने) व्यक्तिलाई समेटेको र आयकर बुझाउनु नपर्नेलाई भने अन्तिम कर नहुन सक्ने बताएका थिए।
सरकारले व्यक्तिगत लगानीकर्ताले सेयर किनेको एक वर्षभन्दा कम अवधिमै बिक्री गर्दा लाभ भएमा अब १० प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ।
यसअघि यस्तो कर ७.५ प्रतिशत थियो। त्यस्तै, अब सेयर किनेको एक वर्षभन्दा बढी अवधिपछि बिक्री गरेर लाभ भएमा ७.५ प्रतिशत तिर्नुपर्छ। अहिले यस्तो लाभमा ५ प्रतिशत कर तिरे हुने व्यवस्था छ।