सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को लागि ल्याएको बजेटले तेस्रो पक्षको बीमांक रकम बढाएर दोब्बर पुर्याएको छ।
बजेटले तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाखबाट बढाएर १० लाख रूपैयाँ पुर्याउने घोषणा गरेको छ।
तेस्रो पक्ष बीमा भनेको सवारी साधनबाट हुने दुर्घटना वा क्षतिको बीमा हो।
दुर्घटनाबाट तेस्रो पक्ष घाइते भएको छ भने उपचार खर्च बापत ३ लाख रूपैयाँ बीमाले व्यहोर्छ।
यदि तेस्रो पक्षको मृत्यु नै भएमा अधिकतम कुल ५ लाख रूपैयाँ प्रदान गर्दछ।
बीमांक रकम भनेको यस्तो क्षतिमा व्यहोरिने रकम हो। नेपालमा तेस्रो पक्ष बीमा अनिवार्य गरिएको छ।
हाल तेस्रो पक्ष बीमा गर्दा एक हजार सात सय रूपैयाँ शुल्क तिर्न पर्छ।
अब बीमांक रकम नै दोब्बर भएपछि कति पुग्ला त शुल्क (प्रिमियम)?
बीमा प्राधिकरणका अधिकारीहरू भन्छन्,'यो रकममा एक तिहाई मात्र पनि बढ्न सुक्छ, दोब्बर पनि हुन सक्छ, तर बढ्न चाहिॅं बढ्छ।'
तेस्रो पक्ष बीमाको शुल्क यसअघि अन्तिम पटक २०६५ सालमा निकालिएको हो।
नेपाल बीमा प्राधिकरणका अनुसार यसको लागि दर रेट निर्धारण समिति नै बन्छ।
बीमा कम्पनी, सरकारी अधिकारी, प्राधिकरणका अधिकारी लगायतको सहभागितामा दर निर्धारण समिति बन्छ।
समितिले दर निर्धारणको आधार मुख्य तीन कुरालाई लिन्छ, पहिलो यसअघि यो बीमामा वार्षिक पर्दै आएको दाबी रकम।
दोस्रो, यस बीमाबाट उठ्ने गरेको शुल्क (प्रमियम रकम)। तेस्रो, सवारी दुर्घटनाबाट हुने मृत्युदर।
र, एक वर्षपछिको मूल्य वृद्धि समायोजन। बीमाको शुल्क एक वर्षअघि नै लिइने र कम्पनीहरूलाई दायित्व एक वर्षभरी जुनसुकै समयमा पनि पर्न सक्ने भएकोले पनि यस्तो समायोजन गरिएको हुन्छ।
यसबाहेक यस्तो दर निर्धारणमा केही राजनीतिक तथा स्वार्थ समूहको दबाबले पनि काम गर्छ।
'कहिलेकाहीँ दर बढी निस्किएमा राजनीतिक दबाब पनि आउँनसक्छ,' प्राधिकरणका एक अधिकारी भन्छन्, 'त्यस्तो बेला निर्धारण भएको दर केही घटाउनुपर्ने पनि हुनसक्छ।'
अहिले पनि कतिपयले तेस्रो पक्ष बीमा कम्पनीहरूको लागि व्यवसायको सुनिश्चितताको रूपमा ल्याइएको भनेर आलोचना गर्ने गरेको पाइन्छ।
तर, यो बीमाले दुर्घटनाबाट हुने क्षतिको दायित्व सम्बन्धी सवारीधनीलाई मात्र नपर्ने, क्षति व्यहोर्न नसक्ने अवस्थामा राहत मिल्ने गरेको छ।
हाल निर्जीवन बीमा कम्पनीहरूको आम्दानीको एउटा मुख्य स्रोत मोटर बीमा हो। तेस्रो पक्ष बीमा मोटर बीमा अन्तर्गत हुने गर्छ।
कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमाससम्म कुल आम्दानी ३२ अर्ब रूपैयाँ छ।
यसमध्ये मोटर बीमा अन्तर्गत ९ अर्ब ८२ करोड रूपैयाँ आम्दानी छ।