नेपाल धितोपत्र बोर्ड (सेबोन) स्थापनाको ३३ वर्ष पूरा गरी ३४औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिने वार्षिकोत्सव कार्यक्रम स्थगित भएपछि बोर्डको कर्मचारी युनियनले व्यवस्थापनप्रति असन्तुष्टि जनाएको छ।
युनियनले सोमबार जारी गरेको विज्ञप्तिमा वार्षिकोत्सव कार्यक्रम कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी एकपक्षीय रूपमा स्थगित गरिएको भन्दै व्यवस्थापनको निर्णयको आलोचना गरेको छ।
संस्थाको इतिहासमै पहिलो पटक वार्षिकोत्सव कार्यक्रम रोकिएको उल्लेख गर्दै यसले कर्मचारीहरूको मनोबल कमजोर बनाएको युनियनको भनाइ छ।
युनियनले व्यवस्थापन पक्ष संस्थाप्रति उदासीन, अनुत्तरदायी र अनिर्णयग्रस्त बन्दै गएको आरोप लगाएको छ।
वर्तमान उच्च व्यवस्थापकीय नेतृत्व तथा सञ्चालक बोर्ड अनिर्णयको बन्दी बन्दा संस्था प्रशासनिक र व्यावसायिक रूपमा क्रमशः कमजोर हुँदै गएको अनुभव गरिएको युनियनले जनाएको छ।
विज्ञप्तिमा वार्षिकोत्सवलाई केवल औपचारिक उत्सव नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता तथा लगानीकर्ताहरूबीच विगतको समीक्षा, वर्तमान चुनौतीको मूल्यांकन र भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरिएको छ।
यस्तो कार्यक्रम स्थगित गर्नुले संस्थाभित्रको कर्पोरेट संस्कृति र आन्तरिक सुशासनमाथि प्रश्न उठाएको युनियनको भनाइ छ।
युनियनले बोर्ड व्यवस्थापनलाई आफ्नो पदीय जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्दै रोकिएका नीतिगत तथा प्रक्रियागत निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ।
साथै, बोर्डको पूर्णकालीन अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहेको उल्लेख गर्दै उक्त नियुक्ति प्रक्रिया शीघ्र टुङ्ग्याउन नेपाल सरकारसँग आग्रह गरेको छ।
अध्यक्ष नियुक्तिमा भइरहेको ढिलाइले समग्र पुँजी बजारको विकास र निर्णय प्रक्रियामा असर परेको युनियनको भनाइ छ।
युनियनले संस्थागत सुशासन, कर्मचारी हित र पुँजी बजारको समग्र विकासका लागि आवश्यक निर्णयहरू अविलम्ब अघि बढाउन सम्बन्धित पक्षसँग माग गरेको छ।
