हालै सम्पन्न नेपाल–भारत अन्तर्देशीय फन्ड ट्रान्सफर (पि२पी) सम्झौतासँगै एभरेस्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप 'इबिएल टच २४' मार्फत नेपाल र भारतबीच 'रियल–टाइम क्रस–बोर्डर रेमिटेन्स सेवा' लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (रियल टाइम) रकम आदानप्रदान गर्न सक्नेछन्।
नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्।
जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्नेछन्।
त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन्।
नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भिपिए) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्।
साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) आइडीमार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन्।