नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको ५०० रूपैयाँ दरको नयाँ बैंक नोट आज (बुधबार)देखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नोटको आकार, रंग तथा डिजाइन साविककै रहनेछ।
भ३८ट ८३०००००१ देखि ९९९९९९ सम्मका सिरिज नम्बर भएका नोटहरू प्रचलनमा ल्याइएको हो।
नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानीछाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्शमार्फत दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएका छन्।

साथै, सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ।
नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो राखिएको छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।
नोटको पृष्ठभागमा पाटेबाघको चित्र रहेको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गभर्नर पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा वि.सं. २०८२ उल्लेख गरिएको छ।