नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा उच्च व्यवस्थापन तहका पदाधिकारीको नियुक्ति तथा मनोनयन प्रक्रियामा थप कडाइ गर्ने भएको छ।
राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सञ्चालक, सिइओ तथा उच्च व्यवस्थापन तहमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिबाट विस्तृत विवरण तथा स्वघोषणा लिनुपर्नेछ।
यस्तो विवरण राष्ट्र बैंकसमक्ष समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
व्यवस्थाअनुसार नियुक्त हुने व्यक्तिले सम्बन्धित व्यवसायसम्बन्धी कानुनले तोकेको मापदण्ड पूरा गरेको स्वघोषणा, पारिवारिक विवरण, नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको विवरण तथा त्यस्तो कसुरमा संलग्न भएको भए त्यसको वर्तमान अवस्थासहितको जानकारी उपलब्ध गराउनुप र्नेछ।
त्यस्तै, कुनै मुद्दा–मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधान प्रक्रिया वा न्यायिक तथा प्रशासनिक कारबाहीमा संलग्न रहेको वा नरहेको विवरण पनि खुलाउनुपर्नेछ।
अदालत वा अधिकारप्राप्त निकायको आदेशबमोजिम तिर्नुपर्ने राजस्व तथा सरकारी बक्यौता भए–नभएको स्वघोषणा समेत अनिवार्य गरिएको छ।
राष्ट्र बैंकले कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकृतिको सूचीमा परेको वा नपरेको विवरण, स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था, विदेशमा रहेको सम्पत्ति वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भएको अवस्था समेत खुलाउनुपर्ने व्यवस्था गरेको छ।
यसका साथै विगतको कार्य अनुभव, संलग्न संस्था, जिम्मेवारी, प्राप्त पुरस्कार, सजाय तथा कार्यसम्पादनका उपलब्धिसहितको विवरण र वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी जानकारी पनि पेश गर्नुपर्नेछ।
राष्ट्र बैंकले यो व्यवस्था नयाँ नियुक्तिमा मात्र नभई हाल बहालमा रहेका सञ्चालक, सिइओ तथा उच्च व्यवस्थापन तहका पदाधिकारीमा समेत लागु हुने जनाएको छ।
त्यस्ता पदाधिकारीहरूको विवरण संकलन गरी राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ भने विवरणमा परिवर्तन भएमा अद्यावधिक जानकारी समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यस व्यवस्थामार्फत बैंक तथा वित्तीय संस्थाको नेतृत्व तहमा रहने व्यक्तिको योग्यता, विश्वसनीयता, पारदर्शिता तथा वित्तीय अनुशासन सुनिश्चित गर्ने उद्देश्य राष्ट्र बैंकले लिएको छ।