अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारमा देखिएको विचलन र अनियमिततामाथिको अनुसन्धान अगाडि बढिरहेका कारण केही लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजीबजार, बीमा र सेयर कारोबारसँग सम्बन्धित विषयमा हाल ठूलो परिमाणको विगो मागसहित मुद्दा दायर भएको उल्लेख गरे।
उनले पुँजीबजारको विचलनलाई संकेत गर्दै भने, 'भर्खरै एक खर्बभन्दा बढीको विगो मागेर यससम्बन्धी मुद्दा दायर भएको छ। यसको केन्द्रविन्दुमा पुँजीबजार, बीमा र सेयर क्षेत्र छन्। देशै हल्लाउने खालका र भित्रभित्रै मक्किसकेका विषयलाई हामी ट्र्याकमा ल्याउँदैछौं।'
अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा केही लगानीकर्तामा आफूहरू पनि अनुसन्धानको घेरामा पर्न सक्ने त्रास देखिएको उनको भनाइ छ।
'सुशासनमा निर्मम ढंगले अघि बढ्दा विगत १०–१५ वर्षका आचरण र नियतसँग सम्बन्धित विषयका कारण केही लगानीकर्ता पर्ख र हेरको नीतिमा बसेका हुन सक्छन्,' उनले भने।
अर्थमन्त्री वाग्लेले सरकारले सुशासन र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे।
बजेटले तय गरेको लक्ष्यअनुसार प्रारम्भिक नतिजा देखिन थालेपछि निजी क्षेत्र थप उत्साहित भएर लगानी विस्तार गर्ने विश्वास पनि उनले व्यक्त गरे।
'अहिले हामी 'ट्रस्ट डिफिसिट' र 'क्राइसिस अफ कन्फिडेन्स' को संक्रमणमा छौं। एक प्रकारको ‘रेजिम चेन्ज’ नै भएको छ,' उनले भने।
सरकारले इमान्दारीपूर्वक कर तिर्ने, समान अवसर र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्ने निजी क्षेत्रलाई आफ्नो सहयात्रीका रूपमा लिएको उनले बताए।
'गरिखाने वातावरण बनाउने, इमान्दार व्यवसायीलाई प्रोत्साहन गर्ने र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो,' उनले भने।
सेयर बजारको दैनिक उतारचढावलाई सरकारले प्राथमिक सूचकका रूपमा नहेर्ने स्पष्ट पार्दै वाग्लेले दीर्घकालीन आर्थिक सुधार र नीतिगत स्थायित्वमा सरकार केन्द्रित रहेको बताए।
'हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल गयो भनेर हेर्दैनौं। हामी युगौंसम्म असर पार्ने दीर्घकालीन नीतिमा काम गरिरहेका छौं,' उनले भने।