याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर कारोबार आज (सोमबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा दुवै कम्पनीको सेयर प्रतिकित्ता ३०० रूपैयाँमा पहिलो कारोबार भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
याम्बालिङ हाइड्रोपावरको 'वाइएमएचएल' र टक्सार पिखुवा खोलाको 'टिपिकेइचएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
यी दुवै कम्पनीको आइपिओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो।
याम्बालिङ हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी कुल ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो।
त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता सेयर गरी कुल १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
दुवै कम्पनीले पहिलो कारोबारको लागि १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि तिनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ।