सर्वोत्तम पेन्ट्सको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ७० हजार ५५० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल २८ लाख ९४ हजार २३२ जनाले ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।
जसमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएको छ भने बाँकी ४४ हजार २०७ आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ७ करोड ५ लाख ५० हजार रूपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।