नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डभन्दा तल झरेका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।
यसका साथै नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै दुई लघुवित्तका सञ्चालक तथा एक संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ।
राष्ट्र बैंकले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामाथि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही गरेको हो।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा आरम्भ चौतारीको न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत, सिवाइसीको ६.२० प्रतिशत, सामुदायिकको ६.१२ प्रतिशत तथा नेरुडे मिर्मिरेको ६.०१ प्रतिशत मात्र कायम भएको थियो।
त्यसैगरी गणपति लघुवित्तको २०८२ असोज मसान्तसम्म पुँजीकोष अनुपात ६.०६ प्रतिशत मात्र रहेपछि उक्त संस्थामाथि पनि शीघ्र सुधारात्मक कारबाही गरिएको हो।
यसैबीच, धौलागिरि लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूलाई कर्मचारी सेवा विनियमावलीविपरीत नायव कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको तथा स्पष्ट आधार र कारणबिना सेवामा नरहेको अवधिको रकमसमेत भुक्तानी गरेको पाइएपछि सचेत गराइएको छ।
सवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूलाई पनि संस्थाको आर्थिक प्रशासन विनियमावलीले तोकेको खर्च सीमा र अख्तियारीको पालना नगरी सवारी साधन खरिद गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ।
त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई कर्जा नोक्सानी व्यवस्थाका रूपमा कायम गरिएको ८१ करोड ५५ लाख रूपैयाँ फिर्ता गरी आम्दानीमा देखाउँदा सम्बन्धित ऋणीको विवरण यकिन नगरी राष्ट्र बैंकको निर्देशनविपरीत आम्दानी लेखाङ्कन गरेको पाइएपछि सचेत गराइएको हो।
राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कमजोर हुने वित्तीय संस्थाको वित्तीय अवस्था सुधार, जोखिम नियन्त्रण तथा निक्षेपकर्ताको हित संरक्षणका लागि शीघ्र सुधारात्मक कारबाही गर्ने व्यवस्था रहेको जनाएको छ।
कम्पनीहरूलाई राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो (माघदेखि चैत) सम्मको सुपरिवेक्षणको आधारमा कारबाही गरेको हो।