नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा 'नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५' अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा एक विशेष समारोहकाबीच उक्त प्रतिष्ठित अवार्ड नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरे।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको बताइएको छ।
यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गरे।
यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्ने थप जिम्मेवारी प्रदान गरेको बताए।
उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू, सम्माननीय सेयरधनीहरू, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे।