एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित इएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरू सुरू गरेको छ।
यस महत्वपूर्ण उपलब्धसॅंगै अब भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा कारोबारहरूको प्रोसेसिङ तथा राउटिङ एनसिएचएलको इएफटी कार्ड स्विच मार्फत हुनेछ।
साथै बैंकले अब नेपालपे कार्ड पनि इस्यु तथा अक्वायर गर्नेछ जसले गर्दा बैंकको नेसनल कार्ड स्कीममा सहभागिता सबल हुनुका साथै देशव्यापी रूपमा एटिएम, पिओएस र मर्चेन्टका डिजिटल च्यानलहरूमा नेसनल कार्ड स्किमको स्वीकार्यता बढाउन सहयोग पुगेको छ ।
नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीच सहकार्य भएको हुँदा बैंकको कार्डको डोमेस्टिक तथा अन्तर्राष्ट्रिय स्वीकार्यताको क्षमता पनि थप विस्तार भएको छ ।
बैंकको लागि पुरानो कार्ड स्विचबाट एनसिएचएलको इएफटी स्विचमा सफलतापूर्वक स्थानान्तरण गर्नु एक महत्वपूर्ण कदम हो।
यसले बैंकलाई कार्ड सम्बन्धी कार्यहरु सञ्चालन गर्न सहज बनाउनुका साथै सञ्चालनगत स्थायित्व कायम गर्ने, कुशलता वृद्धि गर्ने, सुरक्षा सुढृढ बनाउने तथा लागत अप्टिमाइजेशन गर्ने लगायतका सुविधाहरू प्रदान गर्नेछ।
हाल एनसिएचएलले इएफटी कार्ड स्विच तथा सेवाहरू सञ्चालन गर्दै आएको छ।
हालसम्म ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भएको इएफटी कार्ड स्विचले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमका कार्ड सम्बन्धी कारोबारहरू प्रोसेसिङ गर्दछ।
गत आर्थिक वर्षमा एनसिएचएलको इएफटी स्विचमार्फत रु ४ खर्ब २८ अर्बभन्दा बढीको कारोबारहरू प्रोसेस भएको बताइएको छ।
एभरेष्ट बैंकले १३२ शाखा, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटिएम टर्मिनल मार्फत सेवा दिॅंदै आइरहेको छ।