नेपाल राष्ट्र बैंकले वित्तीय सेवामा ग्राहकहको सन्तुष्टिको स्तर कति छ भनेर पहिलो पटक सर्वेक्षण गराउने भएको छ।
बैंकका कार्यकारी निर्देशक गुरू पौडेलले सन्तुष्टिको स्तर मापन गर्न यस्तो सर्वेक्षण गर्न लागिएको जानकारी दिए।
उनका अनुसार मुलुकभरका सबै पालिकाबाट ऱ्यान्डम स्यामपलिङको आधारमा यस्तो सर्वेक्षण हुनेछ।
यस सिलसिलामा करिब १० हजार ४ सय ६ नमुना संकलन गरिने भएको छ।
यो सर्वेक्षणले वित्तीय सेवाको पुहँच, गुणस्तर, पारदर्शिता, बैंक तथा वित्तीय संस्थामा रहेको गुनासो व्यवस्थापन, ग्राहक संरक्षणको अवस्था तथा समग्र वित्तीय ग्राहकहरूको धारणा र अनुभव समेटिने बताइएको छ।
यस्तो सर्वेक्षण विभिन्न पालिकाहरूमा रहेका शिक्षकहरू मार्फत गराइने भएको छ।
पौडेलले भने, 'सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय सेवा प्राभावकारी, गुणस्तरीय बनाउन र वित्तीय क्षेत्रमा आवश्यक नीतिगत व्यवस्थाको समीक्षा गर्न सहयोग पुग्ने हाम्रो विश्वास छ।'