नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ।
आधारभूत मूल्यमा तयार गरिएको मौसमी प्रभाव समायोजन नगरिएको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो वृद्धि भएको हो।
यो वृद्धिमा विद्युत उत्पादन तथा वितरण, बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन तथा व्यापार सेवाजस्ता गतिविधिमा आएको सुधारले मुख्य योगदान दिएको छ।
अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा तथा औद्योगिक उत्पादन बाहेक अन्य सबै क्षेत्रमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ।
यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादन घटेकाले समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत मध्यम रहेको तथ्यांकले देखाएको छ।
मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांकअनुसार १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ। यस अवधिमा सबैभन्दा उच्च वृद्धि विद्युत तथा ग्याससम्बन्धी क्षेत्रमा २४.८८ प्रतिशत रहेको छ।
त्यसपछि वित्तीय तथा बीमासम्बन्धी गतिविधिमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशत वृद्धि भएको अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा आएको सामान्य वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिलाई सकारात्मक बनाएको तथ्यांकमा उल्लेख छ।
अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र आयात बढेकाले यस क्षेत्रमा सुधार देखिएको हो।
यता सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत तथा औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतले संकुचन हुने प्रारम्भिक अनुमान गरिएको छ।
यी दुई क्षेत्रबाहेक अन्य अधिकांश औद्योगिक गतिविधिमा भने सामान्यदेखि सकारात्मक वृद्धि देखिएको छ।
मौसमी प्रभाव समायोजन गरिएको तथ्यांकअनुसार भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ।