सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ४ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ५५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५६ वटा धितोपत्रको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्।
यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
सानिगाड हाइड्रो र स्नो रिभर्सको मूल्य १४.९९ र कालंगा हाइड्रोको मूल्य १४.९८ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा थ्री स्टार हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १३.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३९४ रूपैयाँमा झरेको छ
यसैगरी, नेपाल फाइनान्सको मूल्य ११.६४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५९२ रूपैयाँमा सीमित भएको छ।
सोमबार ८.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर २०८४ को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको एक हजार १०९ रूपैयाँ ९० पैसामा ५३ करोड ९४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.२९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सेन्ट्रल फाइनान्स रहेको छ। उक्त कम्पनीको ६३३ रूपैयाँ ६० पैसामा १५ करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशतले घटेको छ।