नेपाल राष्ट्र बैंकले रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन तथा दबाबमा रहेका कर्जाको पुनरोत्थानका लागि नयाँ उपकरण ल्याउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिमा रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको प्रभावकारी व्यवस्थापन गर्ने तथा वित्तीय दबाबमा रहेका कर्जालाई पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नीतिगत उपकरण विकास गरिने उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार यस्ता व्यवस्थाले आर्थिक रूपमा सम्भावना भएका तर अस्थायी समस्यामा परेका उद्योग–व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै, बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जाको व्यवस्थापन सहज हुने र कर्जा असुली प्रक्रियालाई पनि थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
यद्यपि, यी नयाँ उपकरणको स्वरूप, कार्यान्वयन प्रक्रिया र मापदण्डबारे मौद्रिक नीतिमा विस्तृत विवरण भने खुलाइएको छैन।