नेपाल राष्ट्र बैंकले व्यक्तिगत रेटिङका आधारमा पियर–टु–पियर लेन्डिङसम्बन्धी व्यवस्था अध्ययन गर्ने भएको छ।
डिजिटल माध्यमबाट व्यक्ति–व्यक्तिबीच हुने ऋण कारोबारलाई व्यवस्थित गर्न राष्ट्र बैंकले यस्तो अध्ययन अघि बढाउने जनाएको हो।
आगामी आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिमा व्यक्तिगत रेटिङमा आधारित पियर–टु–पियर लेन्डिङको सम्भाव्यता, नियामकीय ढाँचा र कार्यान्वयनका विषयमा अध्ययन गरिने उल्लेख गरिएको छ।
यद्यपि, व्यक्ति–व्यक्तिबीच हुने ऋण कारोबारलाई औपचारिक रूपमा दर्ता गर्ने व्यवस्था भने नयाँ होइन।
कर्जा सूचना केन्द्रअन्तर्गतको सुरक्षित कारोबार दर्ता कार्यालयले यस्ता कारोबार दर्ता गर्ने प्रणाली करिब सात वर्षअघि नै सञ्चालनमा ल्याएको थियो।
तर, पर्याप्त जनचेतना, प्रभावकारी कार्यान्वयन र प्रोत्साहनको अभावका कारण आम नागरिकले आपसी ऋण कारोबारलाई उक्त व्यवस्थाअनुसार दर्ता गर्ने अभ्यास भने अझै विकास हुन सकेको छैन।