बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमानमा लगानीकर्ताहरू थिए।
तर, मौद्रिक नीतिले त्यस्तो कुनै खास व्यवस्था नगरेपछि लगानीकर्ताहरू निराश देखिएका हुन्।
यसदिन नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार चार अर्ब ४० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर चार अर्ब ८२ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३६२ वटा धितोपत्रको ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच भएको हो।
आज २५ कम्पनीको सेयरमूल्य बढेको छ भने २४७ वटाको घटेको छ। यस्तै पाँच कम्पनी स्थिर छन्।
बुधबार एनएमबी डिबेन्चर ८.५०%-२०८७/८८ को सेयर मूल्य सर्वाधिक ५.५२ प्रतिशतले बढेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार १४५ रूपैयाँ पुगेको छ।
यस्तै, १०% प्रभु बैंक डिबेन्चर २०८४ को मूल्य ४.६७ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १४४ रूपैयाँ कायम भएको छ।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १३.४१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७७५ रूपैयाँमा झरेको छ।
यसैगरी, उपकार लघुवित्तको मूल्य १०.६९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ८४० रूपैयाँमा सीमित भएको छ।
बुधबार १०% केबिएल डिबेन्चर २०८९ को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता एक हजार २९० रूपैयाँमा ६२ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ९.५% एनसिसी डिबेन्चर २०८६ रहेको छ।
उक्त डिबेन्चरको एक हजार १८८ रूपैयाँमा ४३ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड बाहेकका सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले घटेको छ।