कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल को-अपरेसनसॅंग रणनीतिक परियोजना सम्झौता गरेको छ।
जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियानअन्तर्गत यो साझेदारी गरिएको हो।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन्।
दिगो बैंकिङका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ।
डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल को-अपरेसनले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू जस्त इसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि उपलब्ध गराई प्राविधिक सहयोग पुर्याउने बताइएको छ।