सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले 'सिद्धार्थ महिला समृद्धि' कर्जा सञ्चालनमा ल्याएको छ ।
महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको सो कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रूपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रूपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रूपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
यसका लागि बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसनको प्राविधिक सहयोगमा विशेष 'स्कोरकार्ड' मूल्यांकन प्रणाली विकास गरेको छ।
उक्त प्रणालीले परम्परागत बैंकिङ अभ्यास जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र विश्लेषण गर्ने बैंकको भनाइ छ।
सो व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने बैंकले विश्वास लिएको छ।