नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजुरी दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ।
बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा विभिन्न गुनासोहरू प्राप्त भइरहेको सन्दर्भमा प्राधिकरणले आज एक सूचना प्रकाशित गरी त्यस्तो आह्वान गरेको हो।
यदि कुनै बीमक, बीमकका कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुखः दिएमा, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्यांकन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुन विपरीत कार्य गरेको भए त्यस्तो कार्यमा संलग्न व्यक्तिका विरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाहीका लागि प्रमाणसहित उजुरी पेश गर्न सम्बन्धित सबै सरोकारवालालाई प्राधिकरणले सूचना मार्फत आह्वान गरेको छ।
प्राधिकरणमा उजुरी पेश गर्दा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको व्यहोरा, बीमा दाबी नम्बर तथा बीमालेख नम्बर र पुष्टि हुने कागजात, फोटो, भिडिओ वा अन्य प्रमाणहरू संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
यसैगरी, उजुरीकर्ताले प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष रुपमा उजुरी दर्ता गर्न सक्ने वा इमेल वा हुलाक मार्फत प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुर मनपा १० मा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ।
प्राधिकरणमा प्राप्त हुने उजुरी तथा प्रमाणहरुको गोपनीयता कायम राखी बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुन बमोजिम अनुसन्धान गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।