ग्लोबल आइएमई बैंकले 'स्वास्थ्य नारी पहल' कार्यक्रम अन्तर्गत वर्षेनी सातै प्रदेशमा हेल्थ क्याम्प गर्दै आएको छ।
यो वर्ष ५ मुगु जिल्लाको गमगढीमा 'स्वास्थ्य नारी पहल' कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।
मुगुमा गरिएको स्वास्थ्य परीक्षणमा सबैभन्दा बढी ८ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको बैंकले जनाएको छ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरू गरेको महिला स्वास्थ्य शिविरबाट ५ वर्षमा झण्डै २९ हजारले स्वास्थ्य परीक्षण गराएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८६ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा दुई हजार ७८ जना, आर्थिक वर्ष २०८०÷८१ मा दुई हजार २४७ जना र गत आर्थिक वर्ष दुई हजार १५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो।
त्यस्तै, चालु आर्थिक वर्षमा भने सबैभन्दा बढी ११ हजार ९४७ जनामा परीक्षण गरिएको जनाइएको छ।
चालु आर्थिक वर्षमा पनि सबैभन्दा बढी कर्णाली प्रदेशमा दुई हजार ८७५ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ।
यस्तै लुम्बिनी प्रदेशमा दुई हजार ५८९ जना, मधेश प्रदेशमा एक हजार ५०२ जना, कोशीमा १ हजार ४९७ जना, बागमतीमा एक हजार ३७१ जना, सुदूरपश्चिममा एक हजार १८६ जना, र गण्डकीमा ९२७ जना महिलामा परीक्षण गरिएको छ।
सोही क्याम्पमा अन्य आधारभूत स्वास्थ्य चेकजाँच र आवश्यक औषधि वितरणको व्यवस्था पनि उपलब्ध थियो।
साथै, बैंकले स्वास्थ्य क्षेत्रमा आँखाको परिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो।
देशभरका विभिन्न स्थानहरुमा मोतियाविन्दुको उपचारको लागि बैंक शिविरहरू सञ्चालन गरी दुई हजार ७९८ जनाको आँखाको परीक्षणसहित गरिएको थियो।
जसअन्तर्गत ४९० जनाको मोतियाविन्दुको उपचार गरिएको थियो ।
ग्लोबल आइएमई बैंकले परिवार नियोजन संघको सहकार्य र स्थानीयतहको समन्वयनमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न त्यहाँ हेल्थ क्याम्प आयोजना गरेको थियो।
उक्त शिविरमा उपचारको लागि चिकित्सकहरू सहित 'थर्मोकोएगुलेसन' उपकरण बोकेर लगेका थिए।
क्यान्सरको कोषिकाहरू बढ्न नदिन चिकित्सकले थर्मोकोएगुलेसनको प्रयोगबाट नष्ट गर्ने गर्छन्।
स्वास्थ्य शिविरमा गएका परिवार नियोजन संघका उपत्यका शाखा प्रवन्धक प्रकाश डंगोल पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गरे पछि त्यही उपचार गरेको बताए।