मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुऱ्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो।
यस कार्यक्रम अन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकीलाई र स्थानीय तह मार्फत २६ वटा व्हिलचेयर उपलब्ध गराएको छ।
बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, रंगेली मोरङ्ग स्थित रंगेली अस्पताललाई १० थान र ओमसतिया गाउँपालिका–१ नं. वडा कार्यालय मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिहरूका लागि ३ थान व्हिलचेयर हस्तानतरण गरेको छ।
यसैगरी, बैंकले पथरी नगर अस्पताल, पथरीलाई ३–सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यान स्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।
स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
आगामी दिनहरूमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुऱ्याउने यस्ता पहललाई अझ प्रभावकारी रूपमा अघि बढाइने बैंकले जनाएको छ।